विगतमा विद्या भण्डारी जिताउन हिँडेका चन्द्र भण्डारीको देउवाले सातो लिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी पछिल्लो समय पार्टीका नेताहरूलाई गाली गरेर सेलिब्रेटी हुन खोज्दा आलोचित विवादित बन्न थालेका छन् ।

बुधबार प्रदेश ५ का नेता तथा कार्यकर्ताहरूसँगको जुम अन्तरक्रियामा भण्डारीले विधान विपरितका कुरा गर्दै आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवासँग झापरी मागेका हुन् ।

कहिले देउवा गुट, कहिले रामचन्द्र पौडेल गुट, कहिले कृष्णप्रसाद सिटौला गुट, कहिले डा.शशांक गुट, कहिले डा.शेखर कोइराला गुटमा लागेर पार्टीमा अवसर लिँदै आएका भण्डारीले १४औँ महाधिवेशनलाई लिएर नेताहरूको मानमर्दन गरेपछि झापारी मागेका हुन् । अहिले पनि भण्डारीलाई धेरैले देउवाकै मान्छे भनेर आलोचना गर्छन् । तर, भण्डारीले आफूलाई पछिल्लो समय महामन्त्री डा.कोइरालाको गुटको खास मान्छे भन्न रुचाउँछन् ।

०५१ सालकाे मध्यावधी चुनाबका बेला बानेश्वर क्षेत्रबाट कृष्णप्रसाद भट्टराई प्रतिनिधि सभाको उम्मेदवार बनेका बेला गिरिजाप्रसाद कोइरालाको निर्देशनमा कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तर्घात गर्दै हिँडेका चन्द्र भण्डारीले अहिले कांग्रेसमा आदर्शका कुरा गर्दै आएका छन् । त्यस बेला भट्टराईलाई हराउन यिनै चन्द्र भण्डारीले तत्कालीन नेकपा (एमाले)की नेतृ विद्यादेवी भण्डारीलाई जिताउन कांग्रेसका कार्यकर्तासँग ‘सूर्य’मा भोट माग्दै हिँडेका थिए । त्यस बेला अहिलेकी राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीले जितेकी थिइन् । कांग्रेसका कृष्णप्रसाद भट्टराईले हारेका थिए ।

भट्टराईलाई हराउन भूमिका खेलेको गुन तिर्न चन्द्र भण्डारीलाई गिरिजाप्रसाद कोइरालाले लामो समय साथमा हेलिकप्टर चढाएर ठाउँ–ठाउँमा लैजाने गरेका थिए । त्यसपछि भण्डारीले गिरिजाप्रसाद कोइरालाई छाडेर सुशील कोइलाको गुटमा लागेका थिए ।

कुनै बेला आफ्नै नेता हराउन लागेका भण्डारी अहिले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर सेलिब्रेटी बनेका छन् ।

‘देशलाई शिर र जनतालाई काखमा राखेर पार्टीलाई सैद्धान्तिक रूपमा ड्राइभ गर्ने दिन आयो । यो पार्टी र नेताहरूलाई सम्मान गर्न हामी सक्छौं’, बुधबारको जुम अन्तरक्रियामा भण्डारीले भनेका छन्, ‘सभापतिज्यू, हामीलाई जिम्मा दिनुस् आधुनिक प्रविधि प्रयोग गरेर महाधिवेशन सम्पन्न गर्छौं ।’

काठमाडौंको सुविधा सम्पन्न घरमा बसेर प्रविधिमार्फत महाधिवेशन गर्ने ध्वाँस लगाउने केन्द्रीय सदस्य भण्डारीलाई गाउँका जनतासँग इन्टरनेटको पहुँच छ कि छैन भन्ने थाहा नहुन सक्छ । आफ्नै गृहजिल्ला गुल्मीभित्र कांग्रेसभित्र भण्डारीका कारण कति द्वन्द्व र विवाद छ भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन ।

आफ्नै जिल्लाबासीलाई कोराना महामारीका बेला र बाढीपहिरोपीडितलाई बेला भण्डारीले कति सहयोग गरे ? गुल्मेली कांग्रेसले प्रश्न उठाइरहेका छन् ।

एउटा समूहलाई काठमाडौंमा भात खुवाउन कुनै एनजिओलाई एक लाख नगद दिए जस्तो सजिलो महाधिवेशन गर्न छैन भन्ने कुरा भण्डारीलाई महामारीका बेला थाहा नहुन सक्छ ।

केन्द्रीय सदस्य भण्डारीको जवाफमा देउवाले बुधबार राम्रैसँग पाठ पढाएका छन् । ‘चन्द्र भण्डारीजी यहीँ हुनुहुन्छ होला होइन ?’, देउवाले भनेका छन् । जवाफमा भण्डारीले भने, ‘म छु । सुन्छु सभापतिज्यू ।’

सभापति देउवाले आफू पार्टी विधानभन्दा बाहिर जान नसक्ने बताएका छन् । ‘मैले चाहेर पनि पार्टी विधानभन्दा बाहिर जानै सक्दिनँ’, देउवाले भने, ‘तपाईंलाई थाहा छ महाधिवेशन हुन्छ भनेर । तैपनि किन आशंका गर्नुहुन्छ त्यसरी ?’

सभापति देउवाले भण्डारीलाई जनताबाट निर्वाचित भएर आउन आग्रह सुझाव दिएका छन् । ‘तपाईंलाई एउटै अनुरोध, भोलि चुनाव जित्नुहोला । नेपालको ठूलो जनता हो क्या जनता’, देउवाले भने, ‘जनता देशको मालिक हो । मलाई गाली त जसले पनि गर्न पाएकै छ नि !’

देउवाले आफ्नो विरोध गर्नुभन्दा जनताबाट जितेर आउनु ठूलो हुने पनि बताएका छन् । ‘मेरो विरोध गर्नु ठूलो कुरा होइन । जनतामा गएर भोटले जितिदिनुस् न त्यति गरिदिनुस् न’, देउवाले भनेका छन् ।

सभापति देउवाले पार्टीका नेताहरूले आफ्नो विरोध गरेपनि प्रधानमन्त्री खड्गप्रसाद ओलीको कसैले विरोध नगरेको बताए । भण्डारीले ओलीलाई राष्ट्रवादी नेता भनेर प्रशंसा गर्दै आएका छन् ।
‘अहिले के अचम्म छ भने शेरबहादुरको विरोध गर्न पाइन्छ । सबैले विरोध गर्छन्’, देउवाले भने, ‘ओलीको विरोध कसैले गर्न सक्दैनन्, यस्तो अवस्था भइसक्यो ।’

‘ओलीको विरोधमा कोही बोल्दैन, शेरबहादुरको विरोधमा जो पनि बोलेका छन्’, देउवाले भने, ‘प्रजातान्त्रिक पार्टीमा विरोध गर्न पाइन्छ, अधिकार छ ।’

प्रतिनिधि सभामा गुल्मीबाट नराम्रोसँग पराजित भएका केन्द्रीय सदस्य भण्डारीले बेलाबेला दिने अभिव्यक्तिले आलोचित हुँदै आएका छन् ।

भण्डारीले केन्द्रीय सदस्यको हैसियतले गुल्मी कांग्रेसको विवाद मिलाउनुपर्ने थियो । तर, मिलाउन सकेका छैनन् ।

बरु आफू निकटका केही नेताहरूलाई उचालेर काम गरिरहेकाे आरोप छ ।

३–४ महिना अगाडि खड्गप्रसाद ओलीलाई बालुवाटारमै भेटेर भण्डारीले ‘राष्ट्रवादी केपी ओली’ भनेर भजन गाउँदै हिँडेका थिए । भण्डारी पार्टीको केन्द्रीय सदस्य र पूर्वसांसद हुन् । ओलीलाई भेट्न जाँदा र भेटेर आएपछि पार्टीमा जानकारी गरानुपर्छ ।

नेपाली कांग्रेसको निर्देशनविरुद्ध प्रदेश ५ को राजधानी बुटवल बनाउने एमालेको आन्दोलनमा सहभागी भएर भण्डारीले भाषण समेत गरेका थिए ।

एमालेको पछाडि लागेर बुटलवमा आन्दोलन गरेका भण्डारीलाई त्यही एमालेले गुल्मीमा प्रतिनिधि सभाको निर्वाचनमा हराइदियो । कांग्रेस भएर एमालेको पछाडि लागेर आन्दोलन गर्दा पराजित भएको कुरा पनि भण्डारीले भुलेका छन् । त्यस बेला कांग्रेसको निर्देशन मान्दैन भनेर एमालेको सभामा गएर भाषण गरेको नोक्सान भण्डारीलाई नै भयो ।

Published : Thursday, 2020 September 17, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया