‘ठूला माछा’ चोख्याउने अख्तियारमा जान कांग्रेस र नेकपाबाट को–को इच्छुक ?

काठमाडौं । भ्रष्टाचार काण्डहरूमा ठूला माछालाई सफाइ दिएर विवाद र चर्चामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त बन्न एक दर्जन व्यक्तिहरूको चलखेल र दौडधुप शुरु भएको छ ।

नवीन घिमिरेको पदावधि समाप्त भएर विदा भएपछि प्रमुख आयुक्त पदमा जान दौडधुप भएको हो । आयोगमा आयुक्तका तीन पद खाली छ । प्रमुखसहित पाँचजना आयुक्त रहने व्यवस्था छ ।

आयुक्तका खाली दुई पदमा प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भागबण्डा मिलेको छैन । ओली र दाहालबीच कुरा नमिल्दा अख्तियारमा नियुक्ति प्रक्रिया अगाडि बढ्न ढिलाइ भएको छ ।

तत्कालीन प्रमुख आयुक्त दीप बस्नेत कार्यकाल सकिएर बाहिरिएका थिए । आयुक्त राजनारायण पाठकले सेवाग्राहीसँग घुस मागेको भिडियो सार्वजनिक भएपछि राजनीनामा दिएका थिए । नेकपा र कांग्रेस निकटका पूर्वप्रशासक आयुक्त बन्न दौडधुप गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेसलाई एक आयुक्त पद दिने आश्वासन दिएको स्रोतको भनाइ छ । नेकपाले दुई आयुक्तमा नियुक्ति गर्ने तयारी गरेको छ ।

आयोगको प्रमुख आयुक्तको कार्यवाहकको जिम्मेवारी प्रमुख आयुक्त डा. गणेशराज जोशीले पाएका छन् । जोशीलाई नै प्रमुख आयुक्त बनाएपछि मात्रै आयुक्तहरू नियुक्तिको बाटो खुल्छ ।

ओलीले पूर्वगृहसचिव प्रेमकुमार राईलाई लैजाने तयारी गरेका छन् । राई अनुदारवादी पूर्वप्रशासकका रुपमा परिचित छन् । गृह सचिव भएका बेला राईले अन्टसन्ट सुझाव दिएर नेकपाभित्र विवाद सिर्जना गरेको आरोप छ । ओलीले राईलाई आयुक्त बनाउने निश्चित जस्तै रहेपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल शसंकति बनेका छन् ।

जोशी प्रमुख आयुक्तबाट गएपछि राईलाई नै ओलीले प्रमुख आयुक्त बनाउने तयारी गरेको नेकपाका एक नेताले बताएका छन् ।

नेपाल सरकारका अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल, पूर्वसचिव रामकुमार आचार्य, पूर्वगृहसचिव सूर्य सिलवाल, पूर्वकानूनसचिव राजीव गौतमलगायत पनि नेकपाको कोटाबाट आयुक्त बन्न सक्रिय भएर लागेका छन् ।

नेकपाले दुई वटा आयुक्त पद पाउने भएपछि एउटा आयुक्त पदमा दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्वमाओवादीलाई एउटा आयुक्त पद दिनुपर्ने अडान राखेका छन् । आयुक्त बन्ने दौडमा रहेका पूर्वसविच रामकुमार आचार्य वरिष्ठ नेता माधवकुमार नेपालका नातेदार हुन् ।

पूर्वगृहसचिव सूर्य सिलवाल नेकपाका उपाध्यक्ष बामदेव गौतम निकटका हुन् । गौतमले सिलवाललाई अगाडि सारेका छन् ।

महासचिव विष्णु पौडेलको चाहना अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई आयुक्त बनाउने रहेको छ ।

हालका आयुक्त जोशीलाई प्रमुख आयुक्त नबनाउँदासम्म भने दुई आयुक्तमात्र नियुक्त गर्न मिल्छ । आगामी चैत १९ गते प्रमुख आयुक्त जोशी र आयुक्त डा. सावित्री थापा गुरुङको कार्यकाल सकिन्छ ।

नेपाली कांग्रेसको कोटाबाट आयुक्त बन्न पूर्वएआइजी जयबहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मी र पूर्व सह–सचिव गणेश कार्कीको चर्चा छ । देउवाले जयबहादुर चन्दलाई आयुक्तमा पठाउन इच्छुक देखिएका छन् ।

अख्तियारले यति काण्ड, वाइडबडी काण्ड, मल काण्ड, ओम्नी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको सत्तरी करोड कमिशन काण्ड, बालुवाटार जग्गा काण्डमा ठूला माछालाई उन्मुक्ति र सफाइ दिएको आरोप छ ।

१–२ हजार खाने साना कर्मचारीलाई मात्रै अख्तियारले कारबाही गरेको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सत्ता निकटका मान्छेलाई सफाइ दिएपछि अख्तियार विवाद र आलोचनामा परेको छ ।

Published : Thursday, 2020 September 17, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया