वन मन्त्रीका निर्वाचित जनप्रतिनिधि कांग्रेसमा प्रवेश, पूरै गाउँभरि खुसीयाली

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका–५ का सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडा सदस्यसहित स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाबाट निर्वाचित वडा सदस्य मोतीलाल बस्नेतसहितका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा युवा संघका विवेक रोकाय पनि रहेका छन् ।

उनीहरूसँगै नेकपाका दर्जन नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेपछि जाजरकोट नेकपाभित्र खैलाबैला भएको छ ।

नेपाली कांग्रेस जाजरकोटका नेता वेदराज सिंह, मुक्ति आचार्य, खड्क विसी लगायतका जिल्लास्तरका नेताले नवप्रवेशीहरूलाई पार्टीमा भव्य रुपमा स्वागत गरेका छन् ।

निर्वाचित जनप्रतिनिधि अर्को दलमा प्रवेश गर्दा पद जाने व्यवस्था छ । तर, तत्कालीन एमालेबाट निर्वाचित वडा सदस्य बस्नेतले आफ्नो वडा सदस्यको पदलाई बेवास्ता गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कम्युनिष्टहरू धेरै खोक्रो आदर्शका कुरा गर्ने तर, ब्यवहारमा अवसरवादी र कमाउ धन्दामा लागेकाले चित्त नबुझेर नेकपा परित्याग गरेको पूर्व एमालेबाट वडा सदस्यमा निर्वाचित बस्नेतले बताएका छन् ।

सत्तारुढ दलको वडा सदस्य हुँदाहुँदै पनि हरेक कुरामा उपेक्षित हुँदै आएका वडासदस्य बस्नेतलाई त्यतिवेला ठूलो अपमान भएको महसुस भयो जव नगरपालिकाको डोजर गाँउमै आएको बेला गाँउको बाटो सफा गरिदेउभन्दा उनको कुरा सुनुवाई भएन ।

भेरी नगरपालिका–५ इवर गाँउदेखि पासागाडसम्म जोड्ने बाटो मर्मतका लागि नगरप्रमुख चन्द्रप्रकाश घर्ती, वडाध्यक्ष श्यामलाल जैसी र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीलाई अनुरोध गर्दा पनि बाटो मर्मत नभएपछि उनीहरू असन्तुष्ट भएका हुन् ।

बाटो खन्न नमानेपछि स्थानीय युवाहरूले डोजरको साँचो समेत खोसेका थिए । गाँउबाट डोजर लैजान नगरपालिकाले प्रहरीको सहयोग लिनुपरेको थियो ।

असन्तुष्ट स्थानीयले कृषिजन्य उपज सदरमुकाम लैजान सहज हुनेगरि बाटो मर्मत गरिदिए नेकपा छोडेर कांग्रेस प्रवेश गर्ने प्रस्ताव गरेका थिए ।

नेपाल तरुण दल भेरी नगरपालिकाका अध्यक्ष दलबहादुर रानाको पहलमा उक्त प्रस्ताव स्वीकार गरेर नेपाली कांग्रेसले एउटा डोजर(स्काईभेटर) पठाएर करीब दुई किलोमिटर बाटो मर्मत गरेको छ ।

बाटो मर्मत भएपछि स्थानीयलाई कृषि उपज सदरमुकाम लैजान र यातायातमा सहजता आएको छ ।

नागरिकका कुरा नसुन्ने, जनताका पिर मर्का नबुझ्ने भ्रष्ट जनप्रतिनिधी र नेता भएको पार्टीमा बस्न उचित नलागेर कांग्रेसमा प्रवेश गरेको स्थानीय युवा विवेक रोकायले बताएका छन् ।

नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बाटो नखन्ने नभनिए पनि भनेकै दिन खन्न नसकिएको बताएका छन् ।

नेपाली कांग्रेसका नेता बेदराज सिंहले कम्युनिष्टहरुको सर्वसत्तावाद विस्तारै नाङ्गिदै गएको बताएका छन् ।

‘तीन तहका सरकारमा कम्युनिष्टहरूको राज छ । त्यहाँ उनीहरूले लुट मच्चाउने बाहेक केही गर्न सकेका छैनन्’, सिंहले भने, ‘नागरिकका समस्या समाधानभन्दा पनि आफू कसरी कमाउने भन्ने ध्याउन्नमै छन् ।’

भेरी नगरपालिका–५ मा बन्न लागेको बुहप्राविधिक शिक्षालयको जग्गा अधिग्रहणमै मिलेमतोमा लाखौंको अनियमितता भएको छ ।

जाजरकोट वनमन्त्री शक्तिबहादुर बस्नेतको गृहजिल्ला पर्छ । मन्त्री बस्नेतले पनि जाजरकोटमा काम गर्न नसकेको काठमाडौंमा बसेर आफ्नो स्वार्थको राजनीति गर्दै आएको आरोप छ ।

Published : Wednesday, 2020 September 16, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया