हिन्दु धर्म र संस्कृतिमाथि प्रहार भयो, कांग्रेस चुप बस्न मिल्दैनः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले पार्टीका विभागहरू गठन भएको विषयमा आएका आलोचनाको बचाउ गरेका छन् ।

मंगलबार भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले सहमति खोज्ने क्रममा विभागहरू गठनमा ढिलाइ भएको स्वीकार गरे । ‘विभाग बन्ने कुरा उल्टो बाटो होइन । सहमति खोज्दा ढिला भएको हो’, उनले भने, ‘सभापतिले सहमति गरेर जान खोज्दा ढिला भएको हो । अझै पनि सहमति गर्न चाहनुभएको छ ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विभागहरू गठनको विषयमा विरोध गर्दै सभापति शेरबहादुर देउवा उल्टो बाटोमा हिँडेको भनेपछि सह–महामन्त्री डा.महतले विभाग गठनको बचाउ गरेका हुन् ।

सह–महामन्त्री डा.महतले धर्म र संस्कृतिमाथि प्रहार भएको बताए । उनले धर्म र संस्कृतिमाथि प्रहार हुन्छ भने कांग्रेस चुप लागेर बस्न नहुने बताए ।

वरिष्ठ नेता पौडेलले हिन्दूधर्मका विषयमा कांग्रेसका नेताहरू बोल्न नहुने भनेर धारणा राखेपछि डा.महतले त्यसको विरोध गरेका हुन् । उनले हिन्दूधर्मसहितका बौद्ध, किरात, नेवा, थारु, मधेसीलगायत सबै धर्म, संस्कृति र पहिचानमाथि प्रहार हुन्छ भने कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

‘हाम्रो धर्म संस्कृति, सभ्यता, पहिचान छ । सनातन, हिन्दु, बौद्ध, किरात, थारु, नेवार, तामाङ, मगर, मधेसीहरूलगायतको आफ्नै धर्म, संस्कृति र पहिचान छ’, उनले भने, ‘यो सबैको मिश्रणले नेपालको पहिचान बनेको छ । हाम्रो धर्म र संस्कृतिमाथि प्रहार गर्ने कार्य भइरहेको छ । असुरक्षित महशुस भएको छ ।’

‘कांग्रेसलाई त्यस्तो लागेको छ । कांग्रेस सचेत हुनुपर्छ । धर्म र संकृतिलाई क्षयीकरण गर्ने कोशिस भइरहेको छ’, डा.महतले भने, ‘मुस्लिम, क्रिश्चियनको पनि आफ्नै महत्व छ । सबै धर्म समान छन् ।’
‘जब कसैको धर्म संस्कृतिमाथि आक्रमण हुन्छ भने असुरक्षा भयो भने आवाज उठ्छ’, डा.महतले भने, ‘धर्म संस्कृति केही पनि होइन भनेर छाड्नु हुँदैन ।’

कोरोना संक्रमण बास्तविक पनि हो । खेलाची होइन । जीवनलाई जोखिममा नराखेर सबै काम गर्ने हो । फागुनमा गर्न सकिन्छ भने गरौँ । कुनै पनि निर्णय अधिवेशसम्बन्धी एक्लैले घोषणा गर्ने कुरा होइन । सक्रिय सदस्यता अन्तिम टुंगो लगाउने कुरा हामीले गर्नुपर्छ ।

मुलुकमा कम्युनिस्ट सरकारले भ्रष्टाचार, घोटाला लगायतका काण्डहरू गरिरहेको भन्दै सह–महामन्त्री डा.महतले भने, ‘यो अख्तियार चुप लागेर बसेको छ । मुलुकमा ठूला काण्डहरू भएका छन् । सत्ताको आडमा अख्तियारबाट सफाइ दिएर बचाउन काम भएको छ ।’ उनले अख्तियारको कार्यबाट कांग्रेसको चित्त नबुझेको बताउँदै ओम्नी, यति, उद्धारका नाममा नभएका भ्रष्टाचार लगायतमा छानविन गरेर दोषीलाई कारबाहीको माग गरे ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक समेत रहेका सह–महामन्त्री डा.महतले सरकारले कोरोना नियन्त्रणमा कार्ययोजना बनाएर काम गर्न नसकेको बताए ।

‘सरकारको दीर्घकालीन दृष्टीकोण छैन । कर उठाउन मात्रै ध्यान केन्द्रित छ । संक्रमणको यथार्थ मूल्यांकनका आधारमा कसरी जाने भन्ने नीति नै छैन’, उनले भने, ‘कोभिडविरुद्धको खोप नआउँदासम्म कोरोना नियन्त्रण हुँदैन । सरकारले कोरोनाको संक्रमण कहिलेसम्म हुन्छ ? त्यो समयसम्म कसरी उपचार गर्ने ? कसरी व्यवस्थापन गर्ने भनेर कार्य योजना नै बनाएको छैन ।’

‘आवश्यक व्यवस्था मिलाएर कोभिडको अलग अस्पताल बनाउनुपर्छ । एकै ठाउँ उचपचार गर्दा कोरोना सर्छ । अरु बिरामीलाई पनि समस्या भएका छन्’, उनले भने, ‘कोडिभ अस्पताल बनाऔँ । निजी क्षेत्रको अस्पताललाई पनि सहभागी गराऔँ ।’

उनले चिकित्स र स्वास्थ्यकर्मीहरूलाई भत्ता र सेवा सुविधा दिन माग गरेका छन् ।

‘कतिसम्म कोरोना हुन्छ त्यसअनुसार जानुपर्छ । कुनै पनि बिरामी अस्तपालको गेटबाट छिर्न नपाएर मर्न परेको छ । त्यो अवस्था आउनु भएन’, डा.महतले भने, ‘सरकारमा बसेकाहरू कसरी सत्तामा बस्ने भनेर सत्ता जोगाउन लागेका छन् । सत्ताभन्दा बाहिर रहेकाहरू आफू कसरी स्थपित हुन सकिन्छ भनेर सम्पूर्ण समय खेर फालेका छन्’, उनले भने, ‘१०–१२ अर्ब कोरोनाको नाममा खर्च भएको छ । स्थानीय निकायमा मापदण्डको क्वारेन्टिन थिएन । त्यहाँबाट समाजमा भय बढ्यो ।’

‘निषेधाज्ञा, लकडाउन भनेको छ । त्यसबाट जीवनयापन गर्ने समस्या भयो । प्याकेज ल्याएन । सरकारको कन्ट्रिब्युशन भएन’, उनले भने, ‘चार्टड उडानको नाममा महँगो भाडा लिएर कमिशन खाने काम भएको छ । ओम्नी काण्ड भएको छ । दोषीलाई बचाउने काम भएको छ । कांग्रेसले आवाज उठाएको छ । अख्तियारले भ्रष्टाचारीलाई बचाएको छ । ठूला भ्रष्टाचारविरुद्ध काम गर्न सकेको छैन ।’

Published : Tuesday, 2020 September 15, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया