दाहालको कार्यक्रममा ओली आइदिएनन्, पूर्वमाओवादी र खुमलटारलाई तनाब

काठमाडौं । पूर्वमाओवादी नेता स्व.पोस्टबहादुर बोगटीको श्रद्धाञ्जलि कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालमात्रै सहभागी भएका छन् ।

पूर्वएमालेको पार्टी मुख्यालय धुम्बराहीमा मंगलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा दाहाल र केही नेताहरूको मात्रै उपस्थिति रहेको थियो । दाहालले स्व.बोगटीको तस्वीरमा माल्यार्णपन गरेर स्मरण गरेका हुन् । कार्यक्रममा स्व.बोगटीका आफन्तहरू पनि सहभागी थिए ।

दाहाल र स्व.बोगटीबीच पारिवारिक सम्बन्ध पनि थियो । दाहाल र स्व.बोेगटी केही वर्ष सम्बन्धी बनेका थिए ।

दाहालका छोरा साकार दाहाल ‘प्रकाश’ले स्व.बोगटीकी छोरी प्रभाव बोगटीलाई विवाह गरेका थिए । पछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको थियो ।

पूर्वमाओवादी स्व.बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो ।

स्व.बोगटीलाई माओवादीभित्र निष्ठाको राजनीति गर्ने नेताका रुपमा सबैले चिन्ने गर्थे । दाहालले पनि स्व.बोगटीलाई विश्वास गर्नुका साथै सधैँ सरसल्लाह लिने गर्थे ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली भने श्रद्धाञ्जलि दिन आएनन् । हुन त यसअघिका श्रद्धाञ्जलि कार्यक्रमहरूमा पनि ओली आएका थिएनन् ।

स्थायी समितिको बैठकबाट दाहालले नेकपाको एकलौटी अध्यक्ष कार्यकारी भएर चलाउने गरि अधिकार पाएको चर्चा छ । कार्यकारी भएसँगै पहिलो कार्यक्रममा ओली सहभागी नभएपछि दाहाललाई छटपटी भएको छ ।

Published : Tuesday, 2020 September 15, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया