निर्णयको मसी सुक्न नपाउँदै ओलीका कारण नेकपाभित्र फेरि खैलाबैला

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेकपालाई कमजोर बनाएर तोडफोड गर्ने देशी–विदेशी प्रतिक्रियावादी शक्तिको प्रयास बिफल भएको दाबी गरेका छन् ।

बालुवाटारमा शुक्रबार बसेको नेकपाको स्थायी समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले विदेशीहरूले पार्टी फुटाउन खोजेको र आफूले विफल तुल्याइदिएको बताए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपालाई कमजोर बनाएर मुलुक नै बर्वाद पार्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिको अनेकन प्रयासलाई असफल बनाएको धारणा ओलीले बैठकमा राखेको जानकारी दिए ।

ओलीले सबैको भावनाअनुसार सहमति बनेको दाबी गरेका छन् । बैठकमा ओलीले स्थायी समितिले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको बताएका छन् ।

‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गर्न जो चाहाना राखेका थिए’, ओलीको भनाइ उदृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘त्यो असफल बनाउन बैठक सफल भएको छ । बैठक सम्पन्न हुनु नै उनीहरूलाई सटिक जवाफ हो ।’

ओलीले आफूलाई पार्टीभित्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका नेताहरूले असहयोग गरेपछि भारततिर संकेत गर्दै विदेशी शक्तिले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले नेकपाभित्र ठूलै तरंग उत्पन्न भएको थियो ।

आफ्नो प्रधानमन्त्रीको कुर्सी बचेपछि ओलीले स्थायी समितिको बैठकमा फेरि पनि विदेशी तत्वलाई परास्त गरेको अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्ति नेकपाका कुन नेताप्रति लक्षित थियो केही उल्लेख गरेका छैनन् ।

नेकपाभित्र आफ्नो विरोध हुनेवित्तिकै ओलीले विदेशी दलाल र शक्तिको आडमा पार्टी फुटाउन खोजेको अभिव्यक्ति दिने गरेका छन् । ओलीले स्थायी समितिको बैठकमा शुक्रबार दिएको अभिव्यक्तिले असन्तुष्ट समूहलाई झस्काइदिएको छ ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने वा पार्टी फुटाउने भनेको उनकै दलका नेताहरूले भन्दा अरु कसैले गर्न सक्दैनन् । झण्डै दुईतिहाइको बहुमत पाएका ओली र उनको दललाई बाहिरबाट विदेशी शक्तिले कसरी पार्टी फुटाउने वा प्रधानमन्त्रीबाट हटाउने हो उनले केही भन्ने गरेका छैनन् । यदि स्पष्ट त्यस विषयमा ओली नबोल्ने हो भने उनको ती अभिव्यक्तिहरू नेकपाभित्रका विरोधी नेताहरूप्रति नै लक्षित छन् ।

ओलीको यो अभिव्यक्तिले विरोधी नेताहरूलाई झन् रुष्ट बनाइदिएको छ । स्थायी समितिले गरेको भनिएको सर्वसम्मत निर्णयको मसी सुक्न नपाउँदै विवादको बीउ रोपिन पुगेको छ ।

यसैबीच, नेकपाले ०७७ सालको चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि नेकपाले गरेको छ ।

Published : Friday, 2020 September 11, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया