आरोप प्रत्यारोपका बेला कांग्रेस शीर्ष नेताहरूबीच यसरी देखियो अदभूत एकता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूबीच १४औँ महाधिवेशनलाई लिएर आरोप प्रत्यारोप भइरहेका बेला शीर्ष नेताहरूमा बुधबार नयाँ तस्वीर देखिएको छ ।

वीपी कोइरालाको १०७औँ जन्त जयन्तीका अबसरमा कांग्रेसका नेताहरूले सबै रिसराग र मतभेदहरूलाई भुलेर एउटै मञ्चमा देखिए । उनीहरूले पार्टीप्रति चिन्ता जनाए ।

सबै नेताहरूको चिन्ता कम्युनिस्टहहरूले देश र जनताप्रति धोकाको राजनीति गरिरहेको थियो । कांग्रेसले कम्युनिस्टको जस्तो भ्रमको राजनीति गर्न नसक्ने नेताहरूको भनाइ थियो ।

१४औँ महाधिवेशनलाई लिएर नेताहरूबीच एकले अर्कोलाई खुइल्याउने कार्यहरू चलिरहेका छन् । तर, वीपीको जन्म जयन्तीका अवसरमा नेताहरूले लिएको सहमति, सहकार्य र मेलमिलापको नीतिलाई ध्यान दिएकोमा धेरैले खुसी व्यक्त गरेका थिए ।

जुममार्फत भएको अन्तरक्रिया कार्यक्रममा थ्रर्ड पोलको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले सबैभन्दा बोल्ड धारणा राखे । छोटो बोलेका सिटौलाले पार्टी महाधिवेशनका विषयमा उठेका विभिन्न खालका टिकटिप्पणीहरूको स्पष्टरुपमा धारणा राखेका थिए ।

सिटौलाले १४औँ महाधिवेशन कुनै पनि हालतमा फागुनमा हुन नसक्ने बरु के गर्न सकिन्छ भनेर केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्णय गर्न सुझाव दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले आफू सहमतिबाट साथीहरूको सल्लाहअनुसार जान चाहेको बताए । महाधिवेशनका विषयमा आफूलाई अविश्वास नगर्न उनको अनुरोध थियो ।

रामचन्द्र पौडेलले पनि पार्टीप्रति नै चिन्ता जनाए । उनले महाधिवेशन र भ्रातृ संगठनहरूका विषयमा चिन्ता रहेको बताए ।

महामन्त्री डा.शशांक कोइरालाले पार्टीको आन्तरिक विषयमा बोलेनन् । उनले १४औँ महाधिवेशन आएकाले नेताहरूबीच आरोप प्रत्यारोप र गुटको राजनीति हुनुलाई स्वभाविक बताए ।

सह–महामन्त्री डा.प्रकाश शरण महतले पनि पार्टीलाई बलियो बनाउनतिर सबै लाग्नुपर्ने बताए ।
गोपालमान श्रेष्ठले प्रदेश सरकारहरू खारेज गरेर गाउँपालिका र नगरपालिकाहरूलाई बलियो बनाउनुपर्ने बताए ।

उपसभापति विजयकुमार गच्छदारले पनि पार्टीलाई बलियो बनाएर कम्युनिस्टसँग लड्ने अवस्थामा पुर्‍याउनुपर्ने बताए ।

उपसभापति विमलेन्द्र निधिले पनि कांग्रेसको आन्तरिक जीवनका विषयमा चिन्ता जनाए ।

कोषाध्यक्ष सीतादेवी यादबले सरकारले काम गर्न नसकेको र कांग्रेसले मिलेर त्यसलाई खबरदारी गर्नुपर्ने बताइन् । सबै नेताहरूले समग्रमा पार्टीको संगठनप्रति नै चिन्ता जनाएका थिए ।

जुम अन्तरक्रिया कार्यक्रममा पटक–पटक प्रकाशमान सिंहलाई बोलाइएको थियो । तर, नेता सिंह कार्यक्रममा सहभागी भएनन् । गणेशमान सिंहका छोरा प्रकाशमान सो कार्यक्रममा सहभागी नहुनुलाई कांग्रेसभित्र रहस्यका रुपमा हेरिएको छ ।

Published : Thursday, 2020 September 10, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया