कम्युनिस्ट सरकार कोरोनामा असफल भयो, ईश्वर पोखरेलको समिति झन् भ्रष्टः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना नियन्त्रण उच्चस्तरीय समिति भ्रष्टाचारमा लागेको आरोप लगाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन गर्न बनेको कोरोना अनुगमन समितिका संयोजक एवम् कांग्रेसका महामन्त्री डा.प्रकाशशरण महतले ईश्वर पोखरेलको नेतृत्वमा रहेको समिति भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए ।

संक्रमण व्यापक बन्दै गए पनि सरकारले पीसीआर परीक्षण दायरा वृद्धि नगरेको पनि कांग्रेस सह–महामन्त्री डा.महतले बताए ।

उनले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई थप सेवा सुविधा दिनुपर्नेमा जोड दिए । स्वास्थ्य मन्त्रालयले मन्त्रीको नजिकका कर्मचारीलाई च्याप्दा प्रभावकारी काम नभएको डा.महतको भनाइ छ ।

‘असफल नेतृत्वलाई स्वास्थ्य मन्त्रालयमा राखिराख्ने ? स्वास्थ्य सामग्री खरिददेखि अन्य क्षेत्रमा अनियमितता छ’, डा.महतले भने, ‘कोरोना नियन्त्रणमा इमान्दार नेतृत्व आवश्यक छ ।’

नेपाली कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘हुनत यो सरकार नै इमान्दार छैन । तर, यो सरकार रहुञ्जेल हामीले भन्ने यही सरकारलाई नै हो ।’

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले कोरोना नियन्त्रण लगायतमा धेरै राम्रा काम गर्न नसकेको उनले बताए । ‘सरकारले गर्ला र हामी सुरक्षित रहौंला भनेर नबसौं’, डा.महतले भने, ‘आफैं सुरक्षित हुनुपर्छ ।’

000

नेपाली कांग्रेस

कोभिड—१९ अनुगमन समिति

श्रावण २६, २०७७

प्रेस नोट

देश कोभिड—१९ को संक्रमणको मारमा छ । तर नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता कहिले देखिएको थिएन । भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ । पछिल्लो दिनमा लगानी बोर्डमा गरिएको नियुक्ति यसको नाङ्गो रुप हो । यसरी आफ्ना निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थिति छ ।

बढ्दो संक्रमणको कारण मुलुक अहिले स्वास्थ्य संकट र जिविकालाई जोखिममा पार्ने आर्थिक संकटको बीचमा छ । तर संकट सम्वोधनमा भने सरकार अकर्मण्य, नालायक र गैर जिम्मेवार देखिएको छ ।

सरकारले अहिले वन्दावन्दीलाई खुकुलो वनाएको छ तर संक्रमित र संक्रमण गर्न सक्ने व्यक्तिको पहिचान, पृथकीकरण र उपचार अपरिहार्य हुन्छ भने अर्को तर्फ उच्च जोखिममा रहेका व्यक्ति तथा समुदायको सुरक्षा आवश्यक हुन्छ । नेपाली कांग्रेसको निरन्तरको खबरदारीका वावजुद सरकारको उदासिनताले गर्दा यी कामहरु भएनन् । संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि देशभरि कोभिड—१९ संक्रमण फैलदै गएको छ । यसर्थ नेपाली कांग्रेस सरकार समक्ष अविलम्व निम्न कार्य गर्न माग गर्दछ ।

१. लकडाउन खोलिए यता पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्ण रुपमा सुचारु हुने अवस्था छैन । देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था छ । हामीले यस विषयमा उठाउँदै आएका जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर बनोस्, हामी फेरि यो माग गर्दछौं ।

२. सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गरियोस् ।

३. संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाइयोस् ।

४. पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परिक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गरियोस् ।

५. खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस् । फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस् । साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं ।

६. समुदायमा संक्रमण विस्तार सँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढ्दो छ । विरामीको संख्या पनि बढ्दो छ । तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाइयोस् ।

७. आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाइयोस् ।

८. स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गरियोस् । विमाको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् ।

९. कोभिड—१९ सम्बन्धित स्वास्थ्यकर्मीहरुको अभाव देखिएको छ । भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गरियोस् ।

१०. क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुसार बनाउने व्यवस्था तत्काल गरियोस्, त्यसको लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरुलाई दिइयोस् ।

११. कुनै पनि नागरिक कोभिड—१९ सम्बन्धी होस् वा अन्य विरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु हुँदैन । वीरगञ्ज लगायतका अन्य ठाउँहरुमा उपचारको ढोका बन्द हुँदा मर्नु परेको घटना अत्यन्त दुःखदायी छ । यो अवस्थाको तत्काल अन्त्य गरियोस् ।

१२. कोभिड–१९ रोकथामका लागि विभिन्न औषधीहरुको प्रभावकारिताका आधारमा प्रयोग भैरहेको छ । त्यसको निर्णय उपचारमा संलग्न विज्ञ डाक्टरहरुले गर्ने हो । सरकारले त्यस्ता औषधी तथा अन्य स्वास्थ्य उपकरणहरुको आयात निजी क्षेत्रलाई खुला गरोस् ।

१३. कोभिड—१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल भएको छ । तत्काल कोभिड—१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी
दिइयोस् । स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गरिदा नेतृत्व अप्रभावकारी देखिएको छ । वरिष्ठता र व्यवसायिकताका आधारमा स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिइयोस् ।

माथि उठाइएका विषयहरु कोभिड—१९ संक्रमणको बढ्दो जटिलतालाई ध्यानमा राखी तत्काल कार्यान्वयन गर्न माग गरिएको छ । तर हामीलाई थाहा छ, सरकार संवेदनशील छैन र संक्रमणले व्यापक रुप लिन सक्छ । यस्तो अवस्थामा हामी नेपाली कांग्रेसका सम्पूर्ण तहका संरचनाहरुमा जोडिएका साथीहरु, स्थानीय निकायहरु तथा आम नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सरकारको भरोसा धेरै गर्न नसकिने भएकोले आफ्नो सुरक्षामा आफै सजग हुने र अरुलाई पनि सजग गराउने आह्वान गर्दछौं । कोभिड—१९ का कारण समस्यामा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न समेत पार्टीका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं । साथै, निम्न लिखित सावधानी अनिवार्य रुपमा अनुसरण गर्न अनुरोध गर्दछौं ।

१. मास्क लगाउन कुनै पनि हालतमा नर्बिसौं ।

२. एक अर्का सँग भेट्दा अनिवार्य रुपमा भौतिक दूरी कायम राख्न नभुलौं ।

३. स्यानीटाइजरको प्रयोग गर्ने र सावुन पानीले पटक–पटक हाँत धुने कुरालाई अनिवार्य रुपमा अवलम्वन गरौं ।

४. अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिडडुल गरौं ।

जय नेपाल !

Published : Monday, 2020 August 10, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया