पर्सामा जनता मर्न थालेपछि बचाउन माग गर्दै सडकमा नेविसंघ, सभापतिसहित तीन जना पक्राउ

वीरगञ्ज । कम्युनिस्ट सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणमा लापरबाही गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्सा वीरगञ्जमा प्रदर्शन गरेको छ ।

कोरोना महामारीका बेला पनि उपचार र नियन्त्रणमा उचित कदम चाल्न नसक्दा सर्वसाधारण जनताले ज्यान गुमाउनु परेको भन्दै सोमबार नेविसंघ सडकमा उत्रिएको हो ।

नेविसंघका नेता तथा कार्यकर्ताहरू ६ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि धर्ना दिन पुगेका थिए ।

उनीहरूलाई प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी र प्रहरीबीच केही समय झडप समेत भएको छ । प्रहरीले नेविसंघका नेताहरूलाई पक्राउ गरेर लगेको छ ।

पक्राउ पर्नेमा नेविसंघ पर्सा जिल्लाका सभापति विकाश तिवारी, उपसभापति शेष हजरा र ठाकुरराम बहुमुखी कलेजका ईकाइ सभापति मनोज साहलाई पक्राउ गरिएको छ ।

प्रहरीले हानेको लठ्ठी लागेर उनीहरू घाइते समेत भएका छन् ।

वीरगञ्जमा सर्वसाधारणले उपचार नपाएर मर्नुपरेको भन्दै नेविसंघले ६ बुँदे मागसहित प्रदर्शनमा उत्रिएको जनाएको छ ।

वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जनाको ज्यान गइसकेको छ । जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन रहेको नेविसंघको आरोप छ ।

नारायणी अस्पताललाई जनरल सेवा सुविधासहित सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने, अस्पतालहरूले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएकाको परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी अस्पताललाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, कोरोनाका बिरामीको उपचार गर्न नमान्ने मडिकल माफियाहरूलाई कारबाही गर्नुपर्ने, कोरोना महामारीका कारण कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने नेविसंघले माग गरेको छ ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजीत कुँवरले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न गएका समूहका तीन जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

Published : Monday, 2020 August 10, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया