नेकपाका यी स्थायी समिति सदस्यकी पत्नलाई डेढ लाखको नियुक्ति, कोटेश्वरमा भव्य महल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) नेकपाका स्थायी समिति सदस्य मणि थापाले आफ्नी पत्नीलाई डेढ लाख रुपियाँ तलव, भत्ता हुने गरेर सरकारी नियुक्ति दिलाएका छन् ।

पत्नीलाई सरकारी नियुक्ति खुवाएका थापाले काठमाडौंको कोटेश्वरमा तीन तलाको घर उठाइसकेका छन् । घर धमाधम बनाइरहेका थापाले पैसा कहाँबाट ल्याएका हुन् केही भनेका छैनन् । थापाको स्थायी घर प्यूठान जिल्लामा पर्छ ।

माओवादी पृष्ठिभूमि भएका थापा नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्थे । तर, पत्नी रञ्जना श्रेष्ठलाई सरकारी नियुक्त खुवाउन थापाले दाहालको गुट परित्याग गरेको स्रोतले जनाएको छ । थापाले पत्नी श्रेष्ठलाई चैत–वैशाखतिर नियुक्ति दिलाएका हुन् ।

ओली गुटमा प्रवेश गरेर स्थायी समिति सदस्य थापाले पत्नी श्रेष्ठलाई सरकारी नियुक्ति गराएका हुन् । उनकी पत्नी श्रेष्ठ प्रधानमन्त्री अध्यक्ष रहने विपत् ब्यवस्थापन समितिको विज्ञका रुपमा नियुक्त भएकी छिन् । उनको मासिक तलव, भत्ता डेढ लाख रुपियाँ हुन्छ ।

केही दिन अगाडि ओलीको पक्षमा अभिव्यक्ति दिँदै थापाले नेकपाको एकता र विधानले माधव नेपाल र झलनाथ खनाललाई चिन्दैन भनेर विवादास्पद कुरा गरेका थिए ।

पत्नीलाई जागिर खुवाउनकै लागि खुमलटार परित्याग गरेर थापाले बालुवाटार रोजेपछि दोस्रो वरीयताका अध्यक्ष दाहाललाई तनाब भएको छ । दाहालको फेरो समातेर स्थायी समितिमा पुगेका थापाले अन्तिममा आएर पत्नीका लागि गुट परित्याग गरेका छन् ।

नेकपाका स्थायी समिति सदस्य थापाले काठमाडौंको कोटेश्वरमा भव्य घर बनाउँदै छन् । कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट नजिकै नेता थापाले भव्य घर बनाइरहेका हुन् ।

माओवादी आन्दोलनमा लागेका कम्युनिस्ट नेता थापासँग कोटेश्वरमा जग्गा किन्ने र घर बनाउने हैसियतमा कसरी पुगे रहस्य बनेको छ । उनलाई घडेरी र घर बनाउने पैसा कहाँबाट आयो ? भनेर उनकै पार्टीका कार्यकर्ताहरूले प्रश्न गरेका छन् ।

थापाको जग्गा रहेको आसपासमा अहिले पनि आनाको न्यूनतम पचास लाख रुपियाँ मूल्य पर्छ । यस्तो महँगो स्थानमा थापाले कसरी जग्गा किने खोजनविन भएको छ । सो स्थानमा नेकपाका स्थायी समिति सदस्य थापाले तीन तला घर उठाइसकेका छन् । काठमाडाैंमा भाडामा बस्दै आएका थापा अब केही दिनपछि नयाँ महलमा सर्नेछन् ।

Published : Monday, 2020 August 10, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया