यसरी पक्राउ गर्नेछ प्रहरीले गोंगबु हत्याकाण्डका हत्यारा, अपराधीकाे दिनगन्ती शुरू

काठमाडौं । काठमाडौंको गोंगबुमा भेटिएको शवको पहिचान र हत्यामा संलग्नको खोजीका लागि एसपीको नेतृत्वमा पाँच वटा टोली परिचालन भएको छ ।

महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि टोली परिचालन गरिएको हो ।

आइतबार बिहान काठमाडौंको गोंगबु–टोखा क्षेत्रमा सुटकेसमा टुक्रा बनाएर फ्याँकेको अवस्थामा शव भेटिएको थियो । शवको टाउँको थिएन । प्रहरीको कुकुरले टाउकोलाई शव भेटिएको स्थानभन्दा केही पर फेला पारेको थियो ।

शनिबार राति खुँडा प्रहार गरी हत्या गरिएको पुरुषको शव टोखा नगरपालिका–१०, नवज्योति मार्गमा फ्याकिएको स्थानमा शव भेटिएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनी दुवै खुट्टा काटिएको अवस्थामा एकजना पुरुषको शव फेला परेको थियो । प्रहरीको डग स्कुलबाट कुकुर ल्याएर टाउको र खुट्टा बिनाको मृत शरीरको बाँकी टुक्रा खोजी भएको थियो ।

कुकुरले सुटकेस भेटिएको ठाउँबाट करीब ३ सय मिटर टाढा स्वर्गद्धारी मार्गमा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा टाउको र दुई वटा खुट्टा फेला पारेको थियो ।

एसएसपी थापाले शवको टाउको हुलिया हेर्दा मंगोलियन समुदायको अन्दाजी ४४–४५ वर्षको पुरुषको रहेको बताएका छन् । प्रहरीले हत्यारा पक्राउ गर्न सीसीटीभी फुटेज हेरेर अनुसन्धान अगाडि बढाएको छ ।

टाउको भेटिएको स्थानबाट कुकुर केही अगाडि बढेको थियो । एक किलोमिटर टाढा चौबाटो रहेको सिद्देश्वर मन्दिरसम्म पछ्याएको कुकुर अगाडि बढ्न सकेको थिएन ।

कुकुर अगाडि बढ्न नसकेपछि हत्या गर्ने मानिस गाडी चढेर भागेको हुनसक्ने एसएसपी थापाले बताएका छन् ।

प्लास्टिक र सुटकेसमा भेटिएको ती पुरुषको क्षतविक्षत अवस्थाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । एसएसपी थापाले शनिबार राति हत्या गरेर शव फ्याँकिएको बताए ।

एसएसपी थापाले हत्याको पछाडि लेनदेन, खानपिन विवाद, झै–झगडा, रिसइवीलगायत कारण पनि हुनसक्ने बताएका छन् ।

Published : Sunday, 2020 August 9, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया