ओलीजी पहिला कोरोनाबाट जनता बचाऔँ, अयोध्या पछि खोजौँला, मपनि साथ दिन्छुः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दायाँबायाँ नगरी कोरोनाभाइरसको संक्रमणबाट जनताको जीवन बचाउन आफूलाई केन्द्रित बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस नेता खतिवडाले आइतबार बिहान रिपब्लिका दैनिकसँग कुरा गर्दै ओलीलाई अहिले कोरोनाबाट जनताको जीवन रक्षा गर्नेभन्दा पनि राम जन्मभूमि अयोध्याको चिन्ता रहेको बताए । राम जन्मभूमि अयोध्याका बारेमा समय भएपछि खोज्न आग्रह गर्दै उनले भने, ‘जनता कोरोनाले दिनदिन मर्न थालेका छन् । कोरोना रोकथाम गरौँ प्रधानमन्त्रीजी । समयपछि राम जन्मभूमि अयोध्या खोजौँला । मैले पनि साथ दिन्छु ।’

ओलीले शनिबार आफ्नै निवास बालुवाटारमा चितवनको माडीका मेयरसहितका जनप्रतिनिधिहरूलाई बोलाएर अयोध्या नेपालमै रहेको र मास्टर प्लान बनाउन निर्देशन दिएका थिए । ओलीले कोरोनाको संक्रमणबाट जनताको जीवन बचाउनेभन्दा पनि पछिल्लो समय अयोध्याको विषयमा विवाद खडा गरेर आलोचना र पार्टीभित्रको विवादलाई डाइभर्ट गर्न खोजेका छन् ।

कांग्रेस नेता खतिवडाले अयोध्याका विषयमा विवाद गर्नुभन्दा पहिला कोरोनाबाट जनताको जीवन बचाउन ध्यान केन्द्रित गर्न सुझाव दिए ।

‘कोरोनाभाइरसको महामारीबाट जनता त्रसित छन् । धमाधम ज्यान जान थालेको छ । पर्सा, काठमाडौंसहित भारतसँग सिमाना जोडिएका जिल्लाको अवस्था भयाबह भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीजीलाई कोरोनाबाट जनताको जीवन बचाउनेभन्दा पनि रामको जन्मभूमि अयोध्या बनाउनेतिर केन्द्रित हुनुभएको छ । पहिला कोरोना रोकथाम गरौँ । जनताको जीवन ठूलो हो ।’

कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘मपनि रामको ठूलो मूर्ति बनाउनुपर्छ भन्ने पक्षकै मान्छे हो । अयोध्या नेपालमै खोजौँ भन्ने पक्षको मान्छे हुँ । समय सहज भयो भने खोजौँला । तर, अहिले त्योभन्दा पनि ठूलो कुरा भनेको कोरोनाबाट जनताको जीवन रक्षा गर्ने हो ।’

‘प्रधानमन्त्री ओलीजी कोरोना रोकथाम र उपचारमा असफल भएपछि आलोचनाबाट बच्न विषयलाई विषयान्तर गर्न खोज्नुभएको छ’, खतिवडाले भने, ‘पार्टीभित्रैबाट कुर्सीमा हमला भएपछि आत्तिनुभएका ओलीले विषयलाई डाइभर्ट गर्न गरेर सत्ता लम्बाउन र आलोचनाबाट बच्न अनेक फण्डाहरू ल्याइरहनु भएको छ ।’

बेलानकुबेला अयोध्याको विवाद ल्याएर प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध विगार्न खोजेको आरोप खतिवडाले लगाए । ‘प्रधानमन्त्रीजी विद्धावन हुनुहुन्छ । यसमा शंका छैन’, उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रण भएपछि अरु पनि विज्ञलाई राखेर अयोध्याको खोजी गरौँला । यो समय कोरोनाविरुद्ध मिलेर लड्ने नै हो ।’

नेपाली कांग्रेसले कोरोनाको महामारीका बेला सरकारलाई सहयोग गरिरहेको बताएका खतिवडाले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले सरकारलाई कोरोना रोकथाममा सहयोग गर्नुभएको छ । ओलीजीले अब पनि कोरोनालाई हल्का रुपमा लिएर अनावश्यक कुराको पछाडि लाग्नुभयो भने कांग्रेस चुप बस्दैन । ओलीजीलाई जानकारी होस् ।’

ओलीले बालुवाटारलाई गफ गर्ने अखडा बनाएको खतिवडाको आरोप छ । ‘पार्टीका मान्छे बोलाउने, बेफजुलका मान्छे बोलाउने, दिनभरि गफ गर्ने’, उनले भने, ‘देशको मुख्य समस्याबाट भागेर ओलीजीले के गर्न खोज्नुभएको हो ?’

Published : Sunday, 2020 August 9, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया