कम्युनिस्टको दमन प्रतिकार गर्न कांग्रेस नेता गिरीको निर्देशन, दाङमा कार्यकर्ताको मनोबल उच्च

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीलाई बलियो बनाउन भाषण गरेर मात्र नहुने बताएका छन् ।

दाङको घोराहीमा नेपाली कांग्रेस दाङका शुभेच्छुक संघ–संस्थाहरूले शनिबार आयोजना गरेको कार्यक्रमलाई निर्देशन दिँदै गिरीले पार्टीलाई बलियो बनाउन भाषणभन्दा पनि जनतासम्म पुगेर उनीहरूका सुःख, दुःख बुझ्न सक्नुपर्ने बताए । उनले कांग्रेसले मात्रै जनताको पीडा बुझ्न सक्ने बताएका छन् ।

कांग्रेस नेता गिरीले कोरोनाभाइरसले जनता आहात भएको समयमा समेत कम्युनिस्ट सरकारले स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता गरेर संसार हँसाएको बताएका छन् । उनले कम्युनिस्टहरूको दमन र अधिनायकवादको प्रतिकार गर्न निर्देशन दिएका छन् ।

‘जनतालाई राहत दिनुको साटो सरकार आफै भ्रष्टाचारमा लिप्त छ’, उनले भने, ‘कोरोना महामारीप्रति सरकार संबेदनशील छैन ।’ उनले विदेशमा रहेका नेपालीको उद्दार गर्न समेत कम्युनिस्ट सरकार पूरा असफल भएको बताएका छन् ।

जनताले दिएको अभिमतलाई कम्युनिस्टले लत्याएर झुटको खेती गरेको गिरीले बताएका छन् । कांग्रेस नेता गिरीले कम्युनिस्ट सरकारले आस्थाका आधारमा विभेद गरे सहेर नबस्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कम्युनिस्टहरूले जनतालाई झुक्याएर ल्याएको अभिमत अपराधी जोगाउन र भ्रष्टाचारीलाई बचाउन प्रयोग गरेको बताए । उनले अब कांग्रेसले जनताको पीडालाई समाधान गर्ने अवस्था आएको बताए ।

प्रदेश ५ का सांसद शंकर गिरीले कम्युनिस्ट सरकार सत्ताको खेलमा रुमलिइरहेको अवस्थामा कांग्रेसलाई दिशानिर्देश गर्न शुभेच्छुक संघसंस्थालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीले पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने बताएका छन् । उनले भने, ‘कांग्रेस बलियो भएमात्र सबै बलियो हुन्छौं ।’

कार्यक्रममा डेमोक्रेटिक एशोसियसनका अध्यक्ष निर्मल गौतम, नेपाल प्रेस युनियनका सल्लाहकार विपुल पोख्रेल, नेपाल शिक्षक संघका उपाध्यक्ष अमर खडका, शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत, जगत खड्का, खगराज पाण्डे, गिरीराज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यसबीच, कांग्रेसका नेता तथा पूर्वमन्त्री गिरीले गिरीले जेसिज सप्ताह २०७७ मा सहभागी भई तुलसीपुरमा खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन् ।

 

Published : Saturday, 2020 August 8, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया