नुवाकोटमा केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश, नेकपाभित्र पहिरो गयो

शिवपुरी । नुवाकोट जिल्लामा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसहित नेकपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिकामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य शन्तबहादुर तामाङ,नेकपाका कमल सुनारसहितका एक सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गराउने क्रममा सम्बोधन गर्दै सभापति केसीले कम्युनिस्टहरूको झण्डै दुईतिहाइको बहुमत हुँदा पनि कांग्रेसप्रति आकर्षण बढेको बताए । ‘कम्युनिस्टको सरकार छ ।

कम्युनिस्ट सरकार हुँदा पनि जनताको काम गर्न सकेन’, उनले भने, ‘यो कम्युनिस्ट सरकारले जनताको काम गरेन । बरु कोरोना भाइरसको संक्रमणको नाममा लुट्ने, भ्रष्टाचार गर्ने, कमाउनेतिर लागेका छन् ।’ सभापति केसीले कम्युनिस्टको कुरा बुझेर जनताहरू धमाधम कांग्रेस प्रवेश गरिरहेको बताए ।

कांग्रेस प्रवेश गर्नेमा नेकपा (माओवादी)का सन्तकुमार तमाङ, नेकपाका रामशरण सुनार, चित्रबहादुर तमाङ, राजकुमार तामाङ, लालबहादुर गोले, शम्भु गुरुङ लगायत एक सयभन्दा धेरै नेता तथा कार्यकर्ता रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता लक्ष्मण थापा, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, महासमिति सदस्य रमेशकुमार महत, वडाध्यक्ष लालबहादुर तामाङलगायतका नेताहरूले कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताहरू योग्यता र क्षमतामा आधारमा जिम्मेवारी दिइने आश्वासन दिएका छन् ।

कांग्रेस प्रवेश गरेकाहरूले कम्युनिस्टहरू झठको खेती गर्नेहरूको झुण्ड रहेको भन्दै कम्युनिस्टको पछाडि लागेर समय खर्च गरेको बताए । उनीहरूले कम्युनिस्टको पछाडि नलाग्न अपील गरेका छन् ।

यसैबीच, काठमाडौंमा शनिबार नुवाकोटका नेकपाका नेता एवम् उद्यमी रामचन्द्र पुडासैनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्व अर्जुन नरसिंह केसी र डा.शेखर कोइराला तथा नुवाकोट कांग्रेसका जगदीश्वर नरसिंह केसीले नेकपाका पुडासैनीलाई पार्टी प्रवेश गराएका हुन् ।

Published : Saturday, 2020 August 8, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया