झापामा राप्रपाको सिङ्गै कार्यसमितिद्वारा पार्टी परित्याग, कांग्रेस प्रवेश गर्ने

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) झापाले पार्टीको नेतृत्व असक्षम, असफल र परिवर्तन बिरोधी रहेको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् ।

राप्रपा (संयुक्त)को झापा जिल्लाका अध्यक्ष ओमप्रकाश मिश्रसहित अधिकांश नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् । अध्यक्ष मिश्र, सचिव नीरबहादुर कार्की र प्रवक्ता लक्ष्मीप्रसाद ढकालले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरेको जनाएका छन् ।

पार्टी सिद्धान्त बिहीन हुँदै गएको, परिवर्तनलाई आत्मसात गर्न नसकेको र बिगत २० वर्षदेखि जनताबाट प्रत्यक्ष निर्वाचित हुन नसकेको, स्वघोषित वर्तमान अध्यक्षहरूका कारण राप्रपाको राजनीतिक भबिश्य नदेखिएका कारण आफूहरूले संयुक्त रुपमा साउन २४ गतेबाट राप्रपा परित्याग गरेको घोषणा गरेका छन् ।

राप्रपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरिसकेका किरण गिरीले झापा जिल्लाबाट राप्रपा छाड्ने क्रम शुरु भएको बताए । गिरीले ७७ वटै जिल्लामा राप्रपाका धेरै नेता तथा कार्यकर्ताहरूले पार्टी छाड्ने क्रम शुरु भइसकेको बताए । गिरीले भने, ‘राप्रपा छाडेका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्नु हुनेछ । उहाँहरूलाई कांग्रेसमा स्वागत गर्ने तयारी भएको छ ।’

साउन १३ गते राप्रपाका महामन्त्री एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरू बिष्णुबिक्रम थापा, किरण गिरी, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई, बृजलाल यादबसहित एक्काईस जना केन्द्रीय सदस्य तथा एक सय पचासभन्दा बढीको केन्द्रीय नेता तथा कार्यकर्ताले राप्रपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

Published : Saturday, 2020 August 8, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया