कोरोनाबाट काठमाडौंसहित तीनको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं, पर्सा र मोरङमा गरी तीन जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । तीन जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका ६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा.गौतमले बताए । ती महिलालाई साउन १८ गते कोरोना पुष्टि भएको थियो ।

पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३, छपकैया बस्ने ७४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जमा निधन भएको डा.गौतमले बताए । ती पुरुषमा मृत्युपछि लिइएको स्वाबको नमूनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका– ९ बस्ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए ।

Published : Saturday, 2020 August 8, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया