दाङमा भत्किन थाल्याे कम्युनिस्ट किल्ला, मुख्यमन्त्रीकाे दलमा पहिराे, गिरीद्वारा कांग्रेसमा स्वागत

तुलसीपुर । दाङमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई सयभन्दा धेरै नेता तथा कार्यकर्ताले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

दाङ क्षेत्र नं. ३ को तुलसीपुरमा बिहीबार आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले नेकपाका २ सय १८ जना युवाहरूलाई पार्टी प्रवेश गराएका हुन् । नेता गिरीले नेकपाबाट कांग्रेस प्रवेश गर्ने युवाहरूलाई आफूले संरक्षण गर्ने बताएका छन् ।

कांग्रेस नेता गिरीले कम्युनिस्टले जनतालाई झुक्काएर निर्वाचन जितेको भन्दै कम्युनिस्टहरूको असली रुप सबैले थाहा पाएपछि धमाधम नेकपा छाड्न थालेको बताए ।

गिरीले युवाहरूको हरेक दुःख, सुःखमा नेपाली कांग्रेसले साथ दिने बताए । पार्टीलाई अगाडि बढाउन युवाहरूको आवश्यक भएकाले कांग्रेसले युवाहरूको योगदानमा विशेष ध्यान दिने उनले बताएका छन् ।

गिरीले कोरोना महामारीले गर्दा युवाहरू वैदेशिक रोजगारबाट घर फर्कने गरेकाले स्वरोजगार गराउन सरकारले पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले कांग्रेस पार्टीमा युवाहरूको आकर्षण बढिरहेको बताए । उनले कांग्रेसले सबै युवाहरूको योगदानको कदर गर्ने आश्वासन दिएका छन् ।

कार्यक्रममा पूर्वसांसद बुद्धिराम भण्डारी, प्रदेश सांसद शकंर गिरी, नेताहरू केशव आचार्य, लेवेन्द्र धिताल, जिल्ला सचिव शकंर डाँगी, देविका नेपाली, क्षेत्र नं. ३ ‘क’का सभापति घनश्याम ढकाल, तरुण दल दाङका उपाध्यक्ष मुक्ति न्यौपाने, प्रजातान्त्रिक व्यवसायी विनु रेग्मी अधिकारी लगायतले नेपाली कांग्रेस सबैको साझा पार्टी भएको बताए ।

दाङको विकासमा सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनका बेला ठूला–ठूला भाषण गरेपनि अहिले आएर सबै कुरा भुलेको भन्दै कांग्रेस प्रवेश गरेका युवाहरूले कम्युनिस्टका कुरामा विश्वास नगर्न अपील गरे ।

निर्वाचनका बेला पूर्वसभामुख समेत रहेका नेकपाका सांसद कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलहरूले समेत झुठ बोलेको नेकपा परित्याग गरेका युवाहरूले आरोप लगाएका छन् ।

Published : Thursday, 2020 August 6, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया