पदाधिकारी बैठकमा देउवाले देखाए कार्यकर्ताहरूप्रति चिन्ता, मिलेर जान तयार छु, सधैँ असहयाेग भयाे

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन समिति गर्ने गर्ने सहमति भएको छ ।

काठमाडौंको बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र केही नेताहरूको बैठकमा छानविन समिति गठन गर्ने सहमति भएको जनाइएको छ । समिति गठनको विषयलाई केन्द्रीय कार्यसमितिमा लैजाने सहमति भएको छ ।

सभापति शेरबहादुर देउवाले छानविन समितिमा रहने सदस्यहरूको नाम उपलब्ध गाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूहलाई आग्रह गरेका छन् ।

यसअघि नेता नरहरि आचार्यलाई छानविन समितिको संयोजक बनाउने सहमति भएको थियो । आचार्यले स्वास्थ्यका कारण समितिमा बस्न रुचि देखाएका छैनन् ।

सात सदस्यीय समितिमा ६०–४० को भागबण्डाअनुसार देउवाले ३, पौडेल समूहले २ र सिटौला समूहले १ सदस्य सिफारिस गर्नुनर्पे हुन्छ । पौडेल समूहमा सदस्य सिफारिसमा समेत विवाद छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बस्नेछ । सोही बैठकले छानविन समिति बनाउनेछ ।

पदाधिकारी बैठकमा क्रियाशील सदस्यता वितरण, आन्तरिक समायोजनका कामलगायतबारे पनि छलफल भएको एक नेताले बताए ।

नेता पौडेलले महाधिवेशन घोषणा भइसकेको अवस्थामा सभापतिले धमाधम मनोनीत गर्दै पद बाँडिरहेको भन्दै आपत्ति जनाएका थिए । पौडेलले देउवालाई मनोनीत गर्ने कार्य रोक्न माग गरेका छन् ।

सभापति देउवाले ६०–४० को भागबण्डाअनुसार भाग ४० प्रतिशत दिएको भन्दै सबै ठाउँमा पौडेल समूहलाई ४० प्रतिशत ठाउँ राखिदिएको बताएका थिए । तर, पौडेलले विभाग र अन्य स्थानमा मनोनीतका लागि कुनै पनि हालतमा नाम नदिने अडान राखेका थिए ।

सभापति देउवाले आफू सहमतिबाटै अगाडि बढ्न पटक–पटक प्रयास गरेपनि अर्को पक्षका साथीहरूबाट असहयोग भएको भन्दै चिन्ता जनाएका थिए । ‘म सहमतिबाट अगाडि बढ्न चाहेको छु’, देउवाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘तपाईहरूले नै असहयोग गर्नु हुन्छ । नाम माग्दा नाम दिनु हुन्न । मलाई गाली गर्नु हुन्छ ।’

सभापति देउवाले देशभरिका नेता तथा कार्यकर्ताहरूको मनोबल उच्च बनाउने दायित्व केन्द्रीय नेतृत्वको रहेको बताएका छन् । ‘देशभरिका नेता तथा कार्यकर्ताहरूले केही पनि मागेका छैनन्’, देउवाले भने, ‘विभाग र विभिन्न समितिहरू बन्दा स्थान त दिनुपर्‍यो नि ? तपाईहरूले नामै दिन चाहनु हुन्न ।’

सभापति देउवाले कांग्रेसको ४७ मध्ये २० विभागहरूमा प्रमुख बनाइसकेका छन् । देउवाले तरुण विभाग, खेलकुद विभाग र जेष्ठ राजनीतिज्ञ सभालाई विस्तार गरिसकेका छन् । विभागहरू गठन र विस्तार गरेको भन्दै पौडेलले सभापति देउवाको आलोचना गरेका थिए ।

महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न ९ एजेन्डा बैठकमा पेश प्रस्तुत गरेका थिए ।

वरिष्ठ नेता पौडेलले विभाग, भातृ संगठनका म्याद थप, क्रियाशील सदस्यता वितरणमा पारदर्शीतालगायत विषयबारे आफ्ना कुरा राखेका थिए ।

महामन्त्री खड्काले पार्टीको अन्तरिम संरचना समायोजनसम्बन्धी विवरण जानकारी गराएका छन् । खड्काले १३औं महाधिवेशनको क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णय सन्दर्भबारे, क्रियाशील सदस्यता छानविन समिति गठन, भातृ र शुभेच्छुक संस्थाका विधान संशोधनबारे बनेको प्रतिवेदनको जानकारी बैठकमा गराएका छन् ।

अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेकालाई समायोजन, भातृ संगठन (नेविसंघ, नेपाल तरूण दल र नेपाल साँस्कृतिक संघ) पूर्णता दिने, भातृ र शुभेच्छुक संस्थालाई म्याद थप, जिल्लाबाट थप क्रियाशील सदस्यता फारम माग भएको सन्दर्भ र जनसम्पर्क समितिको सदस्यता सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।

देउवाले केही दिनअघि नेविसंघ, तरूण दललगायतको म्याद छ महिना थपेका थिए ।

जिल्लाबाट क्रियाशील सदस्यता फारमहरू माग भइरहेकोले क्रियाशील सदस्यता वृद्धि गर्ने सन्दर्भमा पनि छलफल भएको छ ।

कांग्रेसले साविक क्रियाशील सदस्यको करिब ५० प्रतिशत थप क्रियाशील सदस्यता वितरण गर्न सक्ने गरी फारम जिल्ला पठाए पनि अपुग भएको भन्दै धेरै जिल्लाबाट थप फारम माग भइरहेको छ ।

कांग्रेसले शतप्रतिशत नै क्रियाशील सदस्यता वितरण गर्न सक्ने गरी व्यवस्था गर्ने एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा लैजाने अनौपचारिक सहमति भएको छ ।

वरिष्ठ नेता पौडेलले राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापाको समूहलाई आफूलाई जानकारी नै नगराई पार्टी प्रवेश र सह–महामन्त्री बनाउने निर्णय गरेको भन्दै सभापति देउवासँग अनुसन्तुष्टि जनाएका छन् ।

Published : Thursday, 2020 August 6, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया