कम्युनिस्ट सरकार पहिलो पटक कोरोनासँग डरायो, भन्यो, ‘अफ्ठ्यारो अवस्था सिर्जना भयो’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित भारतसँग सीमा जोडिएका जिल्लाहरूमा संक्रमणको दर बढेको भन्दै चिन्ता जनाएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाका कारण अफ्ठ्यारो अवस्था सिजर्ना भएको चेतावनी दिएका छन् । ‘हामीलाई धेरै अफ्ठ्यारो परिस्थिति तयार भएको छ’, उनले भने, ‘काठमाडौं उपत्यका र भारतसँग सीमा जोडिएका जिल्लाहरूमा संक्रमणको दर बढेको छ ।’

सरकारले बैठक, गोष्ठि, सेमिनार लगायतका जमघट हुने कार्यहरूमा रोक लगाएको छ । ‘सरकारी, सामुदायिक तथा निजी अफिसहरूमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न निर्देशन छ’, प्रवक्ता डा.गौतमले भने, ‘ती बैठकहरू बन्द गर्न नमिल्ने भए भर्चुअल्ली गर्न मन्त्रालयको अपील छ ।’

‘भारतीय सीमाका जिल्लाहरूमा कोरोना संक्रमणको दर उच्च रहेकोले प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, गैरसरकारी संस्थाहरू, शिक्षक, विद्यार्थी तथा अन्य पेशा व्यवसायका व्यक्तिहरूलाई सावधानी अपनाउन, सावधानी अपनाउने वातावरण बनाउन, अनुरोध छ’, डा.गौतमले भने ।

‘स्वाब संकलन गरिसकेपछि कुनै पनि व्यक्तिहरूको रिपोर्ट नआउनुञ्जेलसम्म अनिर्वाय रुपमा क्वारेन्टिनमा बस्न अनुरोध छ’, उनले भने ।

‘काठमाडौं उपत्यका लगायत घनावस्ती भएका क्षेत्रहरूमा कोरोना संक्रमणमा वृद्धि भइरहेकोले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीहरूको अभाव हुने सम्भावना रहेको छ’, प्रवक्ता डा.गौतमले चेतावनीयुक्त शैलीमा भनेका छन्, ‘यसकारण जनस्वास्थ्यका मापदण्ड अत्यावसेक नपरी घरबाट ननिस्कने, दुई मिटरको दुरी कायम राख्ने, अनिर्वाय रुपमा मास्क लगाउने, साबुन पानीले हातधुने, सम्भव नभएमा सेनिटाइजर प्रयोग गर्ने ।’

‘अस्पतालहरूले कर्मचारीहरूलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन र चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूलाई अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गराउन र त्यसको लगबुक राख्न यो सूचना जारी गरिएको छ’, डा.गौतमले भनेका छन् ।

‘कोभिड–१९ को कुनै पनि उपचार पत्ता लागेको छैन । औषधि, अक्सिजन, भेन्टिलेटरले सहयोग मात्रै गर्ने हो’, उनले भने, ‘रोगको उपचार नहुने भएकाले रोग लाग्न नदिनुनै उत्तम उपाय हो ।’

‘संक्रमण बढ्दै गएमा हाम्रा अस्पतालले धान्न सक्दैनन् । हाम्रा स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छन्’, उनले भने, ‘अकालमा ज्यान जान सक्छ । रोग लाग्न नदिनका लागि बेलैमा होसियारी होऔँ ।’

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले अस्पतालमा उपचार, चिकित्सकलगायतको अभाव हुन सक्ने चेतावनी दिएका छन् ।

कम्युनिस्ट सरकारले यति धेरै संक्रमण बढ्दा समेत समयमा रोकथामका लागि आवस्थक पर्ने लकडाउन वा अन्य उपायहरूका लागि कदम उठाएको छैन । बरु जनतालाई डर र त्रास हुने गरेर अभिव्यक्तिहरू दिन थालेको छ ।

मन्त्रालयका प्रवक्ता डा.गौतमको बिहीबारको पत्रकार सम्मेलनमा सर्वसाधारहरूमा डर र त्रास उत्पन्न गराइदिएको छ ।

Published : Thursday, 2020 August 6, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया