बालुवाटारले पठायो खुमलटारमा ‘दूत’, कुर्सी बचाउन ओली सफल

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न दूत पठाएका छन् ।

ललितपुरको खुमलटारस्थित निवासमा ओलीको दूत बनेर गएका नेकपा संसदस्य दलका उपनेता सुवासचन्द्र नेम्वाङले दाहालसँग कुराकानी गरेका हुन् । ओलीको के सन्देश लिएर नेम्वाङ खुमलटार पुगेका हुन् केही भनिएको छैन ।

तर, ओलीको हल्लिएको प्रधानमन्त्री कुर्सी बचाउने विषयमा नेम्वाङले दाहालसमक्ष विभिन्न बिकल्पसहितका प्रस्ताव राखेको जनाइएको छ ।

नेम्वाङ प्रधानमन्त्री ओलीका सबैभन्दा निकटका विश्वासपात्र हुन् । पछिल्लो केही दिन नेम्वाङले ओलीको कुर्सी बचाउन विभिन्न कसरतहरू गरिरहेका छन् । तर, नेम्वाङ सफल हुन सकेका छैनन् ।

ओलीको प्रधानमन्त्री कुर्सी बाहेक सबै कुरामा छलफल चलाउन नेम्वाङ तयार भएको जनाइएको छ । स्रोतका अनुसार नेम्वाङ र दाहालबीच भएको सम्वादमा तत्कालका लागि ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पद सुरक्षित भएको दाबी गरिएको छ ।

ओलीलाई हटाउन विभिन्न हत्कण्डाहरू दाहाल र माधवकुमार नेपालसहितका नेताहरूले गरिरहेका छन् । तर, ओली टसकोमस भएका छैनन् ।

Published : Thursday, 2020 August 6, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया