‘रोशनी काण्ड’ले सभामुख पद फुत्काएका महरा सलबलाउन थाले

काठमाडौं । रोशनी शाही काण्डमा सभामुख पद गुमाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले स्थायी समितिमा जाने इच्छा जनाएका छन् ।

सभामुख भएपछि महराले नेकपाको सांसद बाहेक सबै पदबाट राजीनामा दिएका थिए । रोशनी शाही काण्डले सभामुख पद फुत्किएपछि महरा पार्टीको उपल्लो पदमा छैनन् ।

महराले पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरूलाई भेटेर स्थायी समितिमा मनोनीत हुन चाहेका हुन् ।

स्रोतका अनुसार महराले गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापासँग केही समय अगाडि भेटेर प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीसम्म कुरा पु¥याइदिन आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाका सांसद समेत रहेका महराले आफूलाई नेकपाको केन्द्रीय राजनीतिमा सक्रिय बनाउन खोजेका छन् । तर, उनलाई रोशनी शाही काण्डले बेलाबेला झस्काइरहने गरेको चर्चा नेकपाभित्र छ ।

३–४ दिन यता महरा केही समर्थक र शुभेच्छुकहरूका साथ दाङको क्षेत्र नं. २ मा भेटघाट गर्दै आएका छन् । पार्टीका नेता तथा कार्यकर्ता र भोट हालेका मतदाताहरूसँग महरा पहिलाको जस्तो खुलेर प्रस्तुत हुन छाडेको एक कार्यकर्ताले बताएका छन् ।

जिल्ला अदालत काठमाडौंबाट रोशनी शाही बलात्कार काण्डमा सफाइ पाएपनि महराको मुद्धा उच्च अदालत पाटनमा विचाराधीन छ ।

Published : Wednesday, 2020 August 5, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया