जुवाको अखडाबाट कांग्रेसका शक्तिशाली नेता पक्राउ, बचाउन सभामुखका मान्छेहरू सक्रिय

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता समेत रहेका विवादास्पद व्यापारी विष्णु खत्रीसहितको टोली जुवाको अखडाबाट पक्राउ परेको छ ।

जुवाडे खत्रीलाई बचाउन हाइप्रोफाइल व्यक्तिहरू सक्रिय भएका छन् । खत्रीलाई नेपाली कांग्रेसका नेताहरूले भन्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छुटाउन सक्रिय भएका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित नारायण पौडेलको घरको जुवा खालबाट खत्रीसहित १ दर्जन व्यापारी पक्राउ परेका थिए । पौडेल नेकपा निकटका व्यापारी हुन् । पौडेलको घरको जुवा खालबाट पक्राउ परेका खत्री महाराजगञ्ज प्रहरी वृतको हिरासतमा छन् ।

विवादास्पद व्यापारी एवम् कांग्रेस नेता खत्रीको सम्पत्तिको बारेमा समेत यतिखेर नियामक निकायले अनुसन्धान शुरु गर्ने संकेत देखाएको छ ।

जुवाको खालबाट समातिएका खत्री सहितका व्यापारीहरुको बारेमा पाएको सूचनापछि अहिले प्रहरी र सम्पती शुद्धीकरणका अधिकारीहरू थप अनुसन्धानमा जुटेको स्रोतले जनाएको छ । प्रहरी र सम्पत्ति शुद्धीकरणका अधिकारीहरूले खत्रीको सम्पत्तिको बारेमा पाएको जानकारीले उनीहरू आफै छक्क परेका छन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार खत्रीको काठमाडौं वनस्थलीको सिन्धु कोलोनीभित्र ५ रोपनीको कम्पाउण्डमा आलिसान घर छ ।

काठमाडौंभित्रै विभिन्न ठाउँमा अकुत सम्पत्ति जोडेका कांग्रेस नेता खत्रीको आफ्नो र श्रीमतीको अतिरिक्त विभिन्न व्यक्तिको नाममा समेत सम्पत्ति लुकाएर राखेको उच्च स्रोतले जनाएको छ । पौडेलकी श्रीमतीको नाममा स्वयम्भू, बौद्ध र ककनीमा दर्जनौ रोपनी जग्गा समेत अनुसन्धानको क्रममा फेला परेको छ ।

न्यूरोडको रञ्जना कम्प्लेक्समा खत्रीको दुई करोड दरका ५ वटा सटर रहेको समेत अनुसन्धानमा फेला परेको छ । सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार खत्रीको सिन्धु विकास बैङकमा १ करोडको शेयर फेला परेको छ । शुभश्री हाइड्रोमा कांग्रेस नेता पौडेलको ६ करोडको शेयर रहेको छ । केही समय अगाडि खत्री नै शुभश्री हाइड्रोका अध्यक्ष समेत रहेका थिए ।

विगत १५ वर्षको अवधिमा कांग्रेस नेता खत्रीले अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेका विषयमा सिन्धुपाल्चोक कांग्रेसभित्र चर्चा हुने गरेको थियो । जुवाको खालबाट पक्राउ परेका खत्रीको सम्पत्ति देखेर सम्पत्ति शुद्धीकरण विभागका उच्च अधिकारीहरू छक्क परेका छन् ।

खत्रीका दुइटा ल्याण्डरोभर गाडी काठमाडौंका सडकमा गुडिरहेका छन् । गाडीसँगै डेढ करोड पर्ने टोयोटाका हाइलक्स गाडी पनि उनले चढ्दै आएका छन् ।

विगतमा रक्तचन्दको अवैध कारोवारमा समेत संलग्न रहेका खत्रीले भारतको हरियाणामा दर्ता भएको बीएमडब्लू कार पनि काठमाडौंमा चलाउँदै आएका छन् । कांग्रेस नेता खत्रीले भारतीय नम्वर प्लेटको सो गाडी भने दैनिक राजस्व तिरेर चलाउँदै आएको स्रोतले जनाएको छ ।

खत्रीको खर्च गर्ने शैलीले पनि प्रहरीहरू पनि आश्चर्यमा परेका छन् । सिन्धुपाल्चोकको जम्मुमा गएको पहिरोले व्यापक जनधनको क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टर लिएर गएका थिए ।

लगत्तै नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’सहितका केही स्थानीय नेताहरूलाई लिएर कांग्रेस नेता एवम् विवादास्पद खत्री पनि हेलिकप्टरमा त्यहाँ पुगेका थिए ।

कांग्रेस नेता खत्री ०७४ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्वर १ को ‘क’बाट प्रदेश सांसदमा उम्मेदवार बनेका थिए । उनलाई तत्कालीन नेकपा (एमाले)का नेता अरुण नेपालले हराएका थिए ।

खत्रीले केही दिन अगाडि सिन्धुपाल्चोकको उद्धार र राहत वितरण गर्न कांग्रेसका नेताहरूलाई छाडेर माओवादी पृष्टभूमि भएका नेकपाका नेताहरूलाई लिएर गएपछि कांग्रेसभित्र खैलाबैला भएको छ । हेलिकप्टरको भाडा सबैले शेयर गरेर आएको भनेपनि खत्रीले नै भाडा तिरेको स्रोतले जनाएको छ ।

कांग्रेस नेता खत्री र नेकपाका केन्द्रीय सदस्य सापकोटाबीच परिवार निकटता रहेको छ । खत्रीलाई जुवाको काण्ड र सम्पत्ति शुद्धीकरणबाट बचाउन केन्द्रीय सदस्य सापकोटा र सभामुख अग्नि सापकोटाहरू लागेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

जुवाको खालबाट कांग्रेस नेता एवम् व्यापारी खत्रीसहित व्यापारीहरू गोवर्धन श्रेष्ठ, यामबहादुर श्रेष्ठ, नरध्वज श्रेष्ठ, राज श्रेष्ठ, सिद्धिबहादुर श्रेष्ठ, याङवा शेर्पा, अनिल लगुन, सूर्यनारायण श्रेष्ठ, छविलाल बिक, सोमबहादुर श्रेष्ठ र गम्भीरदास गुभाजुसहित रहेका छन् । उनीहरू सबै महाराजगञ्ज प्रहरीको हिरासतमा रहेकाे प्रहरीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

महाराजगञ्जस्थित घरमा जुवा खेलाउने पौडेल र उनका दाजुभाई अग्नि सापकोटाका अत्यन्त निकट मानिन्छन् । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल उनै जुवा अड्डा चलाउने नारायणका भाई हुन् । पौडेलका अर्का भाई बच्चु पौडेल हिमालय सीमापारको अध्यक्ष हुन् ।

Published : Wednesday, 2020 August 5, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया