देउवाको कुरामा ओली सहमत, ओलीलाई भ्रष्टाचार ढाकछोप नगर्न कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि कम्युनिस्ट सरकारले हालसम्म गरेका कामको समीक्षा अति अवाश्यक रहेको बताएका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मंगलबार बालुवाटारमा आह्वान गरिएको बैठकलाई सम्बोधन गर्दै देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा आवश्यक रहेको बताए । उनले भने, ‘स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।’

सभापति देउवाले आरडीटी परीक्षण स्थायी रुपले अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन् । ‘सम्पूर्ण रुपले पीसीआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त गर्नुपर्छ’, उनले भने, ‘स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्नुपर्छ ।’

‘अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता गर्नुपर्छ’, उनले भने, ‘आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध मिलाउनुपर्छ ।’

‘मापदण्ड अनुरुप क्वारेन्टिनहरूको यथाशीघ्र ब्यवस्थापन गर्नुपर्छ’, देउवाले भने, ‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धार गरि क्वारेन्टिन र परीक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था मिलाउनुपर्छ ।’

‘नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल गर्नुपर्छ’, सभापति देउवाले भने, ‘सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासंगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गर्नुपर्छ ।’

‘परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरूसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस्’, देउवाले भनेका छन् ।

‘विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस्’, उनले भनेका छन्, ‘उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।’

‘विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरूको जीवन रक्षा गरियोस्’, उनले भने, ‘वर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।’

सभापति देउवाले दिएको सुझावहरूलाई ओलीले सकारात्मक रुपमा लिएका छन् । कांग्रेसले जनताको जीवन बचाउन सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता यसअघि नै जनाइसकेको छ ।

Published : Tuesday, 2020 August 4, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया