ओलीलाई ७० करोड काण्डमा मन्त्री गुमाएका बास्कोटाद्वारा भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीलाई सत्तरी करोड कमिशन काण्डका कारण मन्त्री पद गुमाएका गोकुल बास्कोटाले भक्तपुरमा स्वागत गरेका छन् ।

भक्तपुरको बालकोटमा रहेको निवासमा सोमबार बास्कोटाले ओली र उनकी पत्नी राधिका शाक्यलाई स्वागत गरेका हुन् । नेकपाका सांसद समेत रहेका बास्कोटा ओलीको निवासमा बस्दै आएका छन् ।

प्रधानमन्त्री भएपछि ओली आफ्नो बालकोटस्थित निवासमा जान छाडेका छन् । ओली तेस्रो पटक सोमबार बालकोट पुगेका हुन् ।

ओलीलाई भक्तपुरस्थित सुरक्षा निकायका प्रमुख र नेकपाका नेताहरूले भेटेका थिए । केही समय ओली आफ्नो निवासमा बसेर बालुवाटार फर्किएका थिए ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रहेका बेला बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सत्तरी करोड कमिशन मागेको अडियो टेप सार्वजनिक भएपछि मन्त्री पद गुमाउनु परेका थियो ।

भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्दै आएका ओलीको आफ्नै निवासमा बास्कोटा बस्दै आएका छन् ।

Published : Monday, 2020 August 3, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया