त्रिवि अस्पतालमा कोरोना संक्रमितको प्लाज्माबाट उपचार, स्वाथ्यमा उल्लेख्य सुधार

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ ।

वित्रि अस्पतालका चिकित्सक डा.सन्तकुमार दासले विराटनगरका ६० वर्षीय पुरुषलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो । उपचारगरिएका व्यक्ति पुरुष हुन् ।

ती पुरुषको प्लाज्मा उपचारका लागि कोरोनाबाट संक्रमित भइ निको भएका युवकले रगत दिएका थिए । प्लाज्मा पद्धतिबाट उपचार गरिएका ती पुरुषको स्वास्थ्यमा सुधार भएको डा.दासले बताएका छन् ।

साउन १० गते संक्रमित पुरुष अस्पताल भर्ना हुँदा उनलाई निमोनियाको समस्या रहेको थियो ।

उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको थियो । पछि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको डा.दासले बताएका छन् ।

बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको डा.दासले बताएका छन् ।

अहिले उनको निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ । पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको डा. दासले बताए ।

‘अब त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि छैन’, डा.दासले भने, ‘दोस्रो पटक प्लाज्मा दिनुपर्ने स्थिति पनि देखिँदैन ।’

प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ ।

यसको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन् । यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान गरिरहेको छ ।

परिषदले निको भएका संक्रमितहरूलाई इच्छा अनुसार प्लाज्मा दान गर्न पनि आग्रह गरेको छ ।

टिचिङमा उपचाररत् कोरोना संक्रमितलाई प्लाज्मा दिने पनि युवक नै हुन् । उनको परिचय भने अस्पतालले गोप्य राखेको छ ।

Published : Sunday, 2020 August 2, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया