कम्युनिस्टले दाङको विकास गर्न सकेनन्, देशका लागि कांग्रेसको खोजी शुरु भयोः दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कम्युनिस्टहरूले देश र जनताको हितमा कुनै पनि काम नगरेको बताएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले तुलसीपुरमा आइतबार आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले जनताको भरोसालाई कम्युनिस्टहरूले घात गरेको बताए ।

‘कम्युनिस्ट नेताहरूको भ्रममा परेर जनताले विश्वास गरेर झण्डै दुईतिहाइको मत दिए’, उनले भने, ‘देश र जनताको सेवा गर्ने बेला कम्युनिस्टहरू भ्रष्टाचारमा लिप्त भएका छन् । सत्ताका लागि लुछाचुडी गरेका छन् ।’

दाङमा कम्युनिस्टले जित्दा पनि विकास गर्न नसकेको भन्दै कांग्रेस नेता गिरीले भने, ‘दाङको विकास हुनै सकेन । कम्युनिस्टले जितेका छन् । उनीहरूको सरकार छ । तैपनि विकासको सिन्को पनि भाँच्न सकेनन् ।’ उनले दाङमात्रै होइन सिङ्गो देशको विसकाका लागि कांग्रेसले जित्नुपर्ने बताए ।

कम्युनिस्टहरूबाट जनता दिक्क भएको नेता गिरीले बताए । ‘कम्युनिस्टबाट जनता दिक्क भएका छन् । जनताले कम्युनिस्टको बिकल्प खोज्न थालेका छन्’, उनले भने, ‘भ्रम फैलाउने र झुठ बोल्ने कम्युनिस्टहरूलाई गाउँगाउँबाट लखेट्ने बेला भइसक्यो ।’

कम्युनिस्ट सरकार कोरोना महामारीका बेला पनि भ्रष्टाचार र अनियमिततामा लागेको भन्दै कांग्रेस नेता गिरीले दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

कांग्रेसलाई बलियो बनाएर जाने बेला आएको बताएका नेता गिरीले भने, ‘१४औँ महाधिवेशनले कांग्रेसलाई बलियो र नयाँ नेतृत्व दिनेछ ।’

कार्यक्रममा कांग्रेसमा योगदान गर्ने दुई दर्जन स्थानीय नेताहरूलाई नेता गिरीले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसद बुद्धिराम भण्डारी, शंकर डाँगी, केशव आचार्य, जगतबहादुर खड्का, जोगेन्द्र विश्वकर्मा, युवराज खड्कालगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 August 2, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया