भारतबाट आएका बझाङका ६६ जनामा कोरोना

धनगढी । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उनीहरू क्वारेन्टिनमा बसेर घर गएका थिए । असार अन्तिम साता भारतको बेंलोरबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखेर घर पठाइएको थियो ।

एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिएका छन् ।

भारतबाट आएको १४ दिन पुगेपछि ९ गते उनीहरू घर गएका थिए । घर गएको एक सातापछि ६६ जनामा संक्रमण पुष्टि भएका थियो ।

घर गएकामध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बलायरले बताएका छन् ।

क्वारेन्टिनबाट घर गएका संक्रमितहरू केदारस्यूँ गाउँपालिकाको ६ र ७ का बासिन्दा भएको बलायरले बताएका छन् ।

दुबै वडालाई सिल गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले बताइन् ।

उनीहरूलाई चन्द्रोदय माध्यमिक विद्यालय र कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय भएको उपमेयर धामीले बताइन् ।

Published : Saturday, 2020 August 1, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया