देउवा र सिटौलाद्वारा ‘ईनफ ईज ईनफ’का अभियन्तासँग भेट, कम्युनिस्ट सरकारलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सत्याग्रह बसेका ‘इनफ इज इनफ’का अभियन्ताहरूलाई भेटेका छन् ।

काठमाडौंको बसन्तपुरस्थित सत्याग्रह बसेको स्थानमा देउवा र सिटौला शनिबार पुगेर आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

असार २३ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि अनसनरत छन् ।

कांग्रेस सभापति देउवाले उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । देउवाले भनेका छन्, ‘उहाँहरूको मागलाई हाम्रो समर्थन छ ।’

‘मान्छेलाई मर्न दिनु हुन्न’, देउवाले भने, ‘सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरूलाई बचाउनुपर्छ ।’

देउवाले शान्तिपूर्ण आन्दोलनमा कम्युनिस्ट सरकारले धरपकड गरिरहेको भन्दै भर्त्सना गरेका छन् ।

नेपाली कांग्रेस नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले युवाहरूले उठाउँदै आएका मागहरू देश जनताको हितमा रहेको बताए । उनले सत्याग्रह बसेका युवाहरूको मागका विषयमा सरकारले वार्ता गरेर तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

सत्याग्रहीहरू विगत १५ दिनदेखि शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राखेर आन्दोलित छन् ।

उनीहरूले सरकारले असार २३ गते गरेको लिखित सहमति कार्यान्वयनमा धोका दिएको भनेर आन्दोनल गरेका हुन् ।

देउवा र सिटौलाले सत्याग्रहीहरूसँग भेटेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएपछि कम्युनिस्ट सरकारलाई दवाव बढेको छ । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई दवाव परेको छ ।

भेटका क्रममा काठमाडौं महानगरपालिकाकी मेयर हरिप्रभा खड्गी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Published : Saturday, 2020 August 1, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया