दाङमा गाउँका कार्यकर्ताकाे पीरमर्का बुझ्दै कांग्रेस केन्द्रीय सदस्य गिरी, नेतृत्वलाई मिल्न सुझाव

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले एमाले र माओवादीबीच भएको पार्टी एकताको कुरा व्यक्तिगत स्वार्थका लागि भएको बताएका छन् ।

गृहजिल्ला दाङको क्षेत्र नं. ३ अन्तर्गत दंगीशरण गाउँपालिकाको वडा नं. १ मा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता गिरीले एमाले र माओवादीबाट देश नबन्ने बताए । उनले कम्युनिस्टहरूबाट जनता आक्रान्त भइसकेको बताए ।

‘एमाले र माओवादीका सीमित नेताहरूको स्वार्थमा पार्टी एकीकरण भएको सबैले बुझेका छन्’, उनले भने, ‘कोरोनाको महामारीबाट जनतालाई बचाउन बेला पदलोलुपता देखाएका छन् । पदका लागि झगडा गरेका छन् ।’

नेता गिरीले जनताले दिएको म्याण्डेटलाई नेकपाको सरकारले दुरुपयोग गरिरहेको बताए । ‘कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस । पाँच वर्ष एमाले र माओवादीले सरकार चलाउँछन् भनेर झण्डै दुईतिहाइ बहुमत दिए’, उनले भने, ‘जनताको अपेक्षा र देश विकास हुन्छ भनेर सबैले ठानेका थिए । विकासको कुरा त परै जाओस् । कोरोनाबाट बचाउन समेत सकेका छैनन् ।’ कोरोनाका कारण देशमा महामारीको अवस्था सिर्जना भएको उनले बताए ।

कांग्रेसभित्रको आन्तरिक विवादका विषयमा नेता गिरीले मिलेर जानुको बिकल्प नरहेको बताए । ‘विभागहरू गठन र विभिन्न निर्णयहरू भइरहेका छन् । केन्द्रीय अनुशासन समितिबाट विभिन्न निर्णयहरू भइरहेको छ’, उनले भने, ‘१४औँ महाधिवेशनको कार्यतालिक शुरु भइसकेको अवस्थामा पार्टी नेतृत्वबाट हुने निर्णयहरू आचार संहिता विपरित हुन्छन् । ती सबै गतिविधि रोकिनुपर्छ ।’

नेता गिरीले क्रियाशील सदस्यता वितरणमा देखिएको असन्तुलनलाई मिलाउनुपर्ने बताएका छन् । ‘पार्टीमा सक्रिय रुपमा लागेका कार्यकर्तालाई क्रियाशील सदस्यता दिनुपर्छ’, उनले भने, ‘क्रियाशील सदस्यता विरतणका लागि बनाइएको मापदण्डअनुसार केही साथीहरूलाई अन्याय हुन सक्छ ।’

उनले हाल कायम रहेको संख्यामा पचास प्रतिशत क्रियाशील सदस्यता बाँड्ने विषय ठीक भए पनि कुनै वडामा पचास प्रतिशतभन्दा धेरै सक्रिय सदस्य छन् भने उनीहरूलाई मापदण्डअनुसार अन्याय हुन सक्ने उल्लेख गरे । त्यस्तो समस्यालाई फुकाउनुपर्ने नेता गिरीको भनाइ छ ।

नेता गिरीसँग गाउँका नेता तथा कार्यकर्ताहरूले केन्द्रमा शीर्ष नेताहरू मिल्नुपर्ने सुझाव दिएका छन् । उनीहरू केन्द्रमा नेताहरू मिल्ने हो भने गाउँमा कार्यकर्ताहरूको मनोबल बढ्ने बताएका थिए ।

 

Published : Saturday, 2020 August 1, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया