कांग्रेसले खेलाडी र प्रशिक्षकको बीमा गरिदिने, ओलम्पिक कमिटीको भ्रष्टाचार रोक्न बस्नेतको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका संयोजक मोहनबहादुर बस्नेतले ओलम्पिकमा खेल्न जाने खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गरिदिने बताएका छन् ।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्यालयमा शुक्रबार विभागद्वारा १३औँ सागगेमका स्वर्ण पदक विजेता खेलाडीहरूको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले ओलम्पिक गेमका लागि छानौट हुने खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गर्ने घोषणा गरेका हुन् । उनले राष्ट्रिय खेलकुद परिषदले सूची दिनेवित्तिकै सबै खेलाडी र प्रशिक्षकको बीमा गर्ने बताए ।

ओलम्पिक कमिटीले वैदेशिक सहायता लिन नेपाल सरकारको स्वीकृति लिनुनपर्ने कानूनी व्यवस्था गरिएकोप्रति विभागका संयोजक समेत रहेका पूर्वमन्त्री बस्नेतले बिरोध गरे । उनले खेलकुदका अरु निकाय र संघ संस्थालाई सरकारको स्वीकृति लिनुपर्ने तर, ओलम्पिक कमिटीलाई स्वीकृति लिनुनपर्ने ? भनेर प्रश्न गरे ।

‘ओलम्पिक कमिटीका विषयमा लामो समयदेखि विवाद छ । त्यहाँ निर्णय एउटा हुन्छ, कामकुरो अर्कै हुन्छ’, बस्नेतले भने, ‘एन्फामा आर्थिक अनुशासनको कुराले के भयो सबैलाई थाहा छ । म सार्वजनिक लेखा समितिमा थिए । आर्थिक पारदर्शीता भएन भनेर अख्तियारलाई लेख्यौँ ।’

‘अलिहे ओलम्पिक कमिटीले विदेशीको सहयोग लिन नेपाल सरकारको स्वीकृति नचाहिने ऐन बनाइएको छ । ओलम्पिक कमिटी कहाँबाट वा कुन स्वर्गबाट आएको हो ? यो भनेको निरंकुशता हो । यसले अपारदर्शिता छ भन्ने देखाउँदैन ?’, विभागका संयोजक बस्नेतले भनेका छन् ।

‘ओलम्पिक कमिटीको यो गतिविधिले भ्रष्टाचारजन्य गतिविधि प्रोत्साहन गरेको छ’, उनले भने, ‘नरिंकुशता ल्याएको छ । यो विषयमा ध्यान जानुपर्छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विशेष ध्यान दिनुपर्छ ।’

बस्नेतले खेलकुद विभागमार्फत देशभरि खेलाडी उत्पादन गर्ने समेत बताए । ‘खेलकुदलाई व्यवस्थित गर्नुछ । देशभरिका खेलाडीको उर्जा थप्नुछ’, उनले भने, ‘सागका स्वर्ण पदक खेलाडीलाई प्रशिक्षक र अरु व्यवस्थापक छन् । प्रशिक्षकलाई दिनुपर्ने महत्व हामीले दिन पाएका छैनौँ ।’

‘आत्मसम्मानको रुपमा प्रोत्साहन दिन सम्मान गरेका छौँ । नगद ठूलो कुरा होइन’, उनले भने, ‘खेलकुदलाई तल्लो लेबलबाट उत्साहत गर्ने जिम्मेवारी छ । स्थानीय तहबाट प्रशिक्षण गर्नेछौँ । प्रशिक्षकहरू हामीसँगै छन् ।’

विभागका संयोजक बस्नेतले राष्ट्रिय खेलकुद परिषदमा १३ देखि २४ वर्षसम्म प्रशिक्षकको वृत्ति विकास हुन नसकेको बताए । उनले ती प्रशिक्षकहरूको बढुवा हुनुपर्ने बताए । करारमा रहेका खेलकुद परिषदका कर्मचारीहरूलाई प्रक्रिया पु¥याएर स्थायी गरि सेवा सुविधा बढाउनुपर्ने बताएका छन् । ती कर्मचारीहरूको विषयमा कांग्रेसले खेलकुद परिषदलाई सहयोग गर्ने बस्नेतले आश्वासन दिए ।

१३औँ सागगेमका खेलाडीलाई प्रोत्साहन भत्ताका लागि उनले माग गरे । ‘गोल्ड मेडल वा कति वटा मेडल पाएका वापत प्रोत्साहन भत्ता दिने ? जति वटा मेडल जितेको छ त्यति वटाकै प्रोत्साहन भत्ता दिनुपर्छ’, बस्नेतले भने, ‘चार वटा जिते पनि एउटा मात्रै दिने भन्ने सुनेको छु । यस्तो भयो भने नेपालको खेल क्षेत्रका लागि दुर्भाग्य हुनेछ । यसरी खेलकुद र खेलाडीको वृत्ति विकास हुँदैन । जसले जति योगदान गरेको छ त्यति नै मूल्याँकन हुनुपर्छ ।’

संयोजक बस्नेतले कांग्रेसको निर्देशन अनुसार खेलकुदको गतिविधि अगाडि बढाउनको लागि सक्रिय हुने समेत बताए । उनले खेलकुद परिषद स्वयच्छाचारी ढंगले अगाडि बढ्न खोज्यो भने खबरदारी गर्ने चेतावनी समेत दिएका छन् ।

‘कांग्रेसको कुरालाई सरकारले ध्यान दिनेछ । सरकार आज एउटा छ, भोलि अर्को आउन सक्छ’, उनले भने, ‘कांग्रेसको सुझाव र सल्लाहलाई कमजोरीका रुपमा नहेरियोस् ।’

Published : Friday, 2020 July 31, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया