कांग्रेस कार्यकर्ता सदस्यताबाट बञ्चित हुनु हुँदैन, केन्द्रको विवाद जिल्लामा राेकाैँः गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीका लागि सक्रिय रहेका कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गर्नु पर्ने बताएका छन् ।

गृहजिल्ला दाङमा रहेका नेता गिरीले श्रीगाउँ र तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १२ को हरिपौरामा आयोजित अलग–अलग भेटघाट तथा अन्तरक्रियाका क्रममा पार्टीका सक्रिय कार्यकतालाई क्रियाशील सदस्यता दिनुपर्ने बताएका हुन् । उनले क्रियाशील सदस्यता विरतणमा राखिएको मापदण्डले पार्टीमा लागेका धेरै सदस्यलाई अन्याय हुने बताए ।

‘पार्टीमा सदैव क्रियाशील हुने र सबैलाई समट्ने गरी समावेशी तरिकाले क्रियाशील सदस्यता वितरण गर्नुपर्छ’, कांग्रेस नेता गिरीले भनेका छन्, ‘कांग्रेसका कार्यकर्तालाई अन्याय हुन दिनु हुँदैन । यस विषयमा आवाज उठाउँछु ।’

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’ले श्रीगाउँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गिरीले तेरोमेरो नभनेर सक्रिय साथीहरूलाई क्रियाशील सदस्यता दिनुपर्ने बताए ।

पार्टीका लागि क्रियाशील, योगदान पुर्‍याएका र समावेशी तरिकाले क्रियाशील सदस्यता वितरण गरी कांग्रेसमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।

उनले कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै मितिमा हुने भन्दै ढुक्क भएर महाधिवेशनको तयारी गर्न स्थानीय नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

कांग्रेस नेता गिरीले कोरोनाभाइरसको महामारीको नाममा कम्युनिस्ट सरकारले भ्रष्टाचार गरेको आरोप लगाए । ‘जनतालाई कोरोनाभाइरसबाट कसरी बचाउन सकिन्छ भन्नेमा ध्यान नदिएर कम्युनिस्ट सरकार कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने ध्यानमा केन्द्रित भएको छ’, गिरीले भने, ‘मेडिकल सामग्रीमा समेत करोडौँ भ्रष्टाचार गर्ने सरकारबाट जनताले के आशा गर्न सक्छन् ?’

‘काण्डै काण्डमा लिप्त कम्युनिस्ट सरकार कोरोनाको यो विषम परिस्थितिमा पार्टीकै आन्तरिक विवादमा परेको छ’, उनले भनेका छन् ।

केन्द्रीय सदस्य गिरीले विभिन्न अस्पतालमा कोरोना जाँच गर्ने पीसीआर मेसिन लगायत अन्य मेडिकल सामग्रीका बारेमा ध्यान नदिएर कुर्सीको विवादमा फसेको आरोप लगाए ।

कार्यक्रममा पूर्वसांसद बुद्धिराम भण्डारी, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, नेता केशव आचार्य, क्षेत्रीय सभापति जगत खड्का, जिल्ला सचिव शंकर डाँगी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी लगायतले पार्टीमा योगदान पुर्‍याएका र क्रियाशील कार्यकर्तालाई सदस्यता वितरण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’का सभापति खिमबहादुर वली, क्षेत्रीय सचिव चुडामणि ढकाललगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसैगरी, कांग्रेस नेता गिरीले पार्टीलाई बलियो बनाउने दायित्व सबैको रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रियामा गिरीले पार्टीको महाधिवेशन शुरु भइसकेकाले सोहीअनुसारका काम र गतिविधि गर्नुपर्ने बताए । उनले पार्टीमा लागेर सक्रिय रहेका कार्यकर्तालाई भेदभाव गर्न नहुने बताए ।

कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले केन्द्रमा पार्टीभित्र देखिएको विववाद छिटो समाधान गर्न नेता गिरीलाई दवाव दिएका थिए । जवाफमा गिरीले सो विषयमा शीर्ष नेताहरूबीच कुरा भइरहेको भन्दै जिल्लामा केन्द्रको विवाद आउन नहुने बताए ।

कार्यक्रममा कांग्रेसका नेता शम्भु शाह, भरत लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2020 July 31, 7:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया