प्रधान न्यायाधीश राणालाई पूर्वन्यायाधीशहरूले पनि दिए झट्का

काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले पत्नी हत्याको कसुर ठहरी सजाय पाएका रञ्जनप्रसाद कोइरालाको सजाय घटाउने गरी सर्वोच्च अदालतवाट भएको फैसलाको पुनरावलोकन मुद्धालाई छिटो टुंग्याउन माग गरेको छ ।

फोरमका उपाध्यक्ष टोपबहादुर सिंहले बिहीबार विज्ञप्ति जारी गरेर रञ्जनप्रसाद कोइरालाको मुद्धाको पुनरावलोकन मुद्धाको विलम्ब नगरी यथाशीघ्र सुनुवाई गर्न माग गरेका हुन् ।

‘न्याय सम्पादनमा संलग्न न्यायाधीशहरूमध्ये प्रधान न्यायाधीशको विशिष्ट स्थान र सम्मान रहेको परिप्रेक्ष्यमा प्रधान न्यायाधीशको कार्यक्षमता, संस्थाप्रतिको निष्ठा, इमानदारिता र न्याय सम्पादनको पृष्टभूमिको आधारमा सिङ्गो न्यायपालिकाको मूल्याङ्कन हुने गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘अहिले न्यायपालिकाको समग्र नेतृत्व गर्ने प्रधान न्यायाधीश र सर्वोच्च अदालतको केही न्यायाधीशहरुको कार्यक्षमता र निष्ठा उपर नै प्रश्न उठेकोले न्यायपालिकाको विश्वसनियता जोगाउन बैधानिक प्रव्रिmयाद्वारा समस्याको सम्वोधन गर्न जिम्मेवार संवैधानिक निकायले आप्mनो संबैधानिक कर्तव्य निर्वाह गर्नका लागि ध्यानाकर्षण गराएका छौं’, उपाध्यक्ष सिंहले भनेका छन् ।

‘वर्तमान अवस्थामा विवाद उठाइएको रञ्जनप्रसाद कोइरालाको मुद्दामा पुनरावलोकनको अनुमति प्रदान भैसकेको परिप्रेक्ष्यमा विलम्व नगरी शीघ्र सुनुवाईको अपेक्षा राखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘न्यायिक विवेकको प्रयोग न्यायिक आत्मसंयताका साथ न्यायको मर्म र भावना अनुरुप न्यायसम्मत तरिकाबाट हुनु पर्ने सार्वभौम न्यायिक सिद्धान्त रहकोले सो सिद्घान्तकोे प्रयोगप्रति पीडित पक्ष समेतले आपत्ति गरेको अवस्थामा कानूनी प्रकृयाद्वारा नै यथाशीघ्र समाधान हुनुपर्ने आशा तथा विश्वासका साथ सवैको ध्यानाकर्षण हुने पूर्व न्यायाधीश फोरम नेपालले अपेक्षा गरेकोछ’, विज्ञप्तिमा भनिएको छ ।

‘सवारी ज्यान मुद्दामा मातहतको अदालतको थुनछेक आदेशद्वारा थुनामा रहेको पृथ्वी मल्ललाई थुनाबाट छाड्ने गरी भएको आदेशको राजनीतिक दलका नेताहरू, कानून व्यवसायीहरू, संचार जगत एवं आम नेपाली जनतावाट तीव्र आलोचना तथा सडक प्रदर्शन भएतर्फ पूर्व न्यायाधीश फोरमको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘अदालत र न्यायाधीशको मान सम्मान र मर्यादाको मूल्याङ्कनको आधार भनेको अदालतप्रतिको जनआस्था नै हो । जनआस्था अभिवृद्धिले मात्र न्यायपालिकाको विश्वसनीयता बढ्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘न्यायको उच्च आसनमा बस्ने व्यक्तिहरुको कारण न्यायका याचकले न्याय पाउन नसकेको अनुभूति गर्नु प¥यो भने त्यसबाट न्यायालयप्रतिको श्रद्धा र विश्वास मात्र घट्दैन, सम्पूर्ण न्यायकर्मीहरूको शिर निहुरिन्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको संयुक्त ईजलासले पत्नी हत्यामा कसुर भइ जन्मकैद पाएका रञ्जनप्रसाद कोइरालालाई सजाय घटाएर रिहाइ गरिदिएपछि आलोचना हुँदै आएको छ ।

राणाको आलोचना भइरहेका बेला पूर्व न्यायाधीशहरूको संस्था फोरमले समेत प्रधानन्यायाधीश राणा फैसलाप्रति असन्तुष्टि जनाएको छ । पूर्व न्यायाधीशहरू सिधै राणाको पक्षमा देखिएका छैनन् ।

Published : Thursday, 2020 July 30, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया