रामचन्द्र पौडेलद्वारा अन्तरघातीको बचाउ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका अन्तरघाती नेता पुष्करनाथ ओझालाई कारबाही गर्न नपाइने बताएका छन् ।

पौडेलले बिहीबार ट्वीट गर्दै कांग्रेसको अनुशासन समितिद्वारा ओझालाई गरिएको कारबाहीप्रति अनुसन्तुष्टि जनाएका हुन् । उनले समितिमाथि नै प्रश्न उठाएका छन् ।

अनुशासन समितिको नेतृत्व र नियतमाथि प्रश्न उठाउँदै पौडेलले ओझालाई गरिएको कारबाहीको विरोध गरेका छन् ।

पौडेलले कांग्रेसका नेता गोविन्दराज जोशीमाथि भएको कारबाहीलाई भने जायज भएको जनाएका छन् । पौडेलकै उजुरीमा अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरिएको छ ।

केही दिनअघि पार्टीको अनुशासन समितिले ओझा र जोशीसहित ३२ जनालाई गत चुनावमा पार्टी हित विपरीत काम गरेको भन्दै निष्कासन गरेको थियो ।

कैलालीका ओझाको निर्वाचन क्षेत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणालाई उम्मेदवार बनाइएको थियो ।

डा.राणालाई उम्मेदवार बनाइएपछि निष्क्रिय रहेका ओझामाथि सहयोग नगरेको आरोपमा कार्वाही गरिएको छ । ओझाकै निर्देशन र अन्तरघातमा डा.राणाले निर्वाचनमा पराजय भोग्नु परेको उजुरी अनुशासन समितिमा परेको छ ।

‘सिटिङ्ग संसदको उम्मेदवारी खोसिएका कैलालीका पुस्कर ओझालाई स्पष्ट आधार र कारणबिना बागी उमेदवारसँग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निष्काशनको कारबाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ’, पौडेलले भनेका छन् ।

देउवा र पौडेलको सेटिङमा अनुशासनको कार्वाही गरिएको भन्दै कांग्रेसभित्र विरोध भइरहेको छ ।

निर्वाचनमा अन्तरघात गर्ने ओझा आफू निकट भएकै कारण बचाउमा उत्रिनुलाई वरिष्ठ नेता पौडेलमाथि भेदभावको आरोप लागेको छ । पौडेलले अन्तरघाती ओझालाई बचाउन खोजेको आरोप लागेको छ ।

Published : Thursday, 2020 July 30, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया