विभागहरू गठन भएपछि आत्तियो पौडेल–कोइराला समूह, कामचलाउभन्दै देउवालाई काम नगर्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन आचार संहिता विपरित विभागहरू गठन गरेको भन्दै पत्र लेखेको छ ।

पौडेल–कोइराला समूहले बिहीबार देउवालाई पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाउनुका साथै पत्रकार सम्मेलन गरेर १४औँ महाधिवेशन शुरु भइसकेको अवस्थामा विभागहरू गठन, नेताहरूलाई अनुशासनको कारबाही, क्रियाशील सदस्यता वितरण जस्ता कुराहरूमा हस्तक्षेप नगर्न माग गरेका हुन् ।

उनीहरू सभापति देउवाले आफ्ना निकटका नेता तथा कार्यकर्तालाई मनोमानी ढंगले विभागमा राखेको आरोप लगाएका छन् । उनीहरूले महाधिवेशनलाई प्रभावित बनाउन सभापति देउवाले पद र प्रलाेभना बाँडेकाे आराेप लगाएका छन् । यस्ता कार्यले महाधिवेशन धाँधलीरहित हुन नसक्ने पाैडेल-काेइराला समूहकाे भनाइ छ ।

उनीहरूले पार्टी प्रवेश गराउने नाममा प्रतिनिधिहरू मनपरी ढंगले बाढेको भन्दै पौडेल–कोइरालाले आपत्ति जनाएको छ । हालै राप्रपाबाट सुनिलबहादुर थापासहितको समूह कांग्रेसमा भित्रिएको थियो । पौडेल–कोइरालाले सुनिलबहादुर थापालाई सह–महामन्त्री दिएकोमा असन्तुष्टि जनाउँदै आएको छ ।

पौडेल–कोइरालाले भ्रातृ संस्थाहरू महाधिवेशन गर्न पनि माग गरेका छन् । भ्रातृ संस्थाहरूको समयमा अधिवेशन हुन नसक्दा संगठनभित्र समस्या भएको उनीहरूले जनाएका छन् ।

अमेरिका र भारतमा नेपाली जनसम्पर्क समितिका सभापतिहरू केन्द्रीय कार्यसमितिमा मनोनीत भएपछि स्वतः सभापति पदबाट खारेज भएको भन्दै अमेरिकामा सभापतिले समितिका सदस्यहरूलाई कारबाही गरेको भन्दै पौडेल–कोइरालाले आपत्ति जनाएका छन् ।

पौडेल–कोइरालाले देउवालाई कामचलाउ सभापति भएको भन्दै पार्टीको विधान र निर्वाचन आचारसंहिता विपरितका कुनै पनि कार्य नगर्न सचेत गराएका छन् । उनीहरूले एकलौटी रुपमा पार्टी कब्जा नगर्न देउवालाई चेतावनी दिएका छन् ।

विभागहरू गठनमा असहमति जनाउँदै आएको पौडेल–कोइरालाले तरुण दल र नेविसंघ गठनमा पनि असन्तुष्टि जनाएको छ ।

पौडेल–कोइरालामा उप–गुटहरू धेरै भएपछि विभाग र तरुण तथा नेविसंघमा पदाधिकारी र सदस्यहरू पठाउन सकेका छैनन् ।

देउवाले सभापतिमा निर्वाचित भएको छ महिनाभित्र विभागहरू गठन किन नगरेको भनेर पौडेल–कोइराला समूहले बखेडा गर्दै आएको छ । तर, देउवाले सहमतिका लागि पटक–पटक आग्रह गर्दासमेत पौडेल–कोइरालाले विभाग र भ्रातृ संस्थामा बस्ने पदाधिकारी र सदस्यहरूको नाम समयमा नदिएपछि विभागहरू गठन हुन सकेको थिए ।

कोरोना महामारीका बेला १४औँ महाधिवेशन फागुनमा हुन सक्दैन भन्ने देउवा र पौडेल–कोइराला समूहलाई राम्रो जानकारी छ । विभाग गठन रोक्नकै लागि पौडेल–कोइरालाले महाधिवेशनको अडान राख्दै आएको छ । महाधिवेशनको कार्यतालीका फेरि पनि प्रभावित भइसकेको छ ।

पौडेल–कोइराला समूहसँग नेता कृष्णप्रसाद सिटौला भने सहभागी छैनन् ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, डा.चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, रामकृष्ण यादव, सरिता प्रसाइँ, किरण यादव, गुरु घिमिरे, जीवन परियारलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2020 July 30, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया