कोरोनाले जनता आतंकित बनेका बेला ओलीसहित कम्युनिस्ट नेताहरूको पारिवारिक भाेज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने तिकडम चलिरहेका बेला भैँसेपाटीमा पारिवारिजक भोजभतेर भएको छ ।

ललितपुरको भैँसेपाटीस्थित कोलोनीमा रहेको नेकपाका उपाध्यक्ष बामदेव गौतमको निवासमा ओली, महासचिव विष्णु पौडेल र ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको परिवारको मंगलबार राति जमघट भएको छ । गौतमलाई भेट्न ओली पत्न राधिका शाक्यसहित भैँसेपाटी पुगेका हुन् । उनीहरूले गाैतमकाे निवासमा खाना खाएकाे स्राेतले जनाएकाे छ ।

बामदेव गौतमका छोरा हरिश गौतमद्वारा सार्वजनिक गरिएको फोटोहरूमा प्रमुख राजनीतिक सल्लाहकार रिमाल देखिएका छैनन् । तर, फोटोहरूमा ओली, गौतम, पौडेल र उनीहरूको परिवारका सदस्यहरू देखिएका छन् ।

बालुवाटारमा मंगलबार नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा ओलीबीच तिकडम भएको थियो । त्यस लगत्तै राति ओली भैँसेपाटीस्थित गौतमको निवास हान्निएका थिए ।

स्रोतका अनुसार उपाध्यक्ष गौतम र नेता भीमबहादुर रावलले दाहाल–नेपालको क्याम्प परिवर्तन गरेर ओलीलाई सघाउन तयार भएको बताइएको छ । यो सहमति भएको हो भने ओलीलाई दाहाल–नेपालले हल्लाउन पनि सक्ने छैनन् ।

ओली पछिल्लो समय दाहाल–नेपालसँग एकअंश पनि हल्लिएका छैनन् । ओली अडानमा बसेपछि दाहाल–नेपाललाई तनाब भएको छ । मंगलबारको स्थायी समितिको बैठक पनि तनाबपूर्ण अवस्थाबाट गुज्रिएको थियो । ओली बैठकमै आएनन् । दाहालले बैठक चलाउने प्रयास गरेका थिए ।

बैठकमा गणपुरक संख्या नै नपुगेपछि ओलीलाई मनाउन दाहाल ओलीको बसेको कोठामा पुगेका थिए । तैपनि ओलीले दाहालको कुरै सुनेनन् ।

अहिलेसम्मको अवस्था हेर्दा नेताहरू मिल्ने अवस्थामा छैनन् । अबको मिलन विन्दु भनेको ओलीसँग हात उठाएर दाहाल–नेपालले आत्मसमर्पण गर्नु नै रहेको चर्चा छ ।

Published : Tuesday, 2020 July 28, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया