नेकपापछि कांग्रेस नेताहरू भेट्दै चिनियाँ राजदूत यान्छी, पौडेलसँग भेटवार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार आन्तरिक कारणले विवादमा परेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छिन् ।

काठमाडौंको बोहराटारस्थित निवासमा मंगलबार नेता पौडेलसँग राजदूत यान्छीले भेटवार्ता गरेकी हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध र कोभिड–१९ का विषयमा कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ ।

विभाजनको संघारमा पुगेको नेकपालाई फुटबाट बचाउनुका साथै आफ्नै पार्टीका कारण ढल्न लागेको खड्गप्रसाद ओलीको सरकारलाई राजदूत यान्छीले बचाइदिएको चर्चा छ ।

नेकपाका शीर्ष नेताहरूसँग बेलाबेला बाक्लै भेट गर्दै आएकी राजदूत यान्छीले वरिष्ठ नेता पौडेललाई चीन विरोधी गतिविधि गर्न नदिन कांग्रेसका कार्यकर्तालाई निर्देशन दिनुपर्ने कुरा राखेको स्रोतले जनाएको छ ।

पछिल्लो समय तराईमा कांग्रेसका कार्यकर्ताहरूले चीन विरोधी गतिविधि गरेको भन्दै चीनले आपत्ति जनाउँदै आएको छ । सो विषयमा वरिष्ठ नेता पौडेलले पार्टीमा कुरा राख्ने आश्वासन दिएको स्रोतले जनाएको छ ।

Published : Tuesday, 2020 July 28, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया