कांग्रेसका नेताहरूको मानमर्दन गरेर वडा सदस्य जित्न नसक्ने राजावादीहरूलाई केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसमा राजावादी र पञ्चहरू प्रवेश गर्ने अन्तिम तयारी गरिरहेका बेला उनीहरूलाई दिन लागेको पद र जिम्मेवारीका विषयमा ठूलो प्रश्न उठेको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका राप्रपाका नेता सुनिलबहादुर थापा नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्दै छन् । कांग्रेस प्रवेश गर्न लागेका थापा मात्रै राजनीतिक उचाइँ भएका नेता हुन् ।

धनकुटा जिल्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका र मन्त्री बनिसकेका थापालाई उपयुक्त जिम्मेवारी दिए पनि अन्य नेता तथा कार्यकर्ताहरूलाई केन्द्रीय कार्यसमितिमा स्थान दिन लागिएको छ ।

स्रोतका अनुसार थापालाई कांग्रेसको सह–महामन्त्री बनाउने तयारी भएको छ । थापाले आफूलाई पाँचदेखि दश जना केन्द्रीय सदस्य माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उप–सभापति विमलेन्द्र निधिले थापालाई पाँच वटा केन्द्रीय सदस्य दिन तयारी गरेका छन् । थापाले वडा सदस्य जित्ने हैसियत समेत नरहेकालाई केन्द्रीय सदस्य बनाउने तयारी गरेका छन् ।

नेपाली कांग्रेसमा वर्षौंदेखि पार्टी बनाउन संघर्ष गरिरहेका सयौँ नेता तथा कार्यकर्ता रहेका बेला कांग्रेस नेतृत्वले वडा सदस्यहरू समेत जित्न नसक्नेलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य बनाउन लागेपछि विरोध भएको छ ।

प्रतिनिधि सभामा कम्युनिस्ट सरकारका हर्कतहरूको सशक्त रुपमा भण्डाफोर गर्दै आएका सांसद दीव्यमणि राजभण्डारी, सांसद प्रकाश रसाइली ‘स्नेही’ जस्ता नेताहरू ओझेलमा परेका छन् ।

अहिले संसदमा नरहे पनि पूर्वसांसद तथा युवा नेता रामहरि खतिवडाहरूले सडकबाटै कम्युनिस्ट सरकारविरुद्ध सशक्त रुपमा आवाज उठाउँदै आएका छन् ।

राजभण्डारी, रसाइली, खतिवडा जस्ता धेरै नेताहरूलाई बाहिर राखेर कांग्रेस नेतृत्वले वडा सदस्य जित्ने हैसियत नभएका राजावादी र पञ्चहरूलाई पार्टीमा भित्र्याउन लागेकोमा असन्तुष्टि भएको छ ।

सुनिलबहादुर थापालाई पार्टीको विधान मिचेर सह–महामन्त्री र केन्द्रीय सदस्यहरू बनाउन लागेका बेला कांग्रेसका होनहार नेताहरूको मानमर्दन हुने गरेर नेतृत्वले गतिविधि गरेको आरोप लागेको छ ।

कांग्रेसमा प्रवेश गर्नेलाई स्थान दिइनुपर्छ । तर, स्थान दिँदा पार्टी प्रवेश गर्नेहरूको हैसियतअनुसारको जिम्मेवारी दिनुपर्ने कांग्रेसका नेताहरूको माग छ । कांग्रेसका नेताहरूले वडा सदस्य नै जित्न नसक्नेहरूलाई केन्द्रीय सदस्य नबनाउन जोडदार माग उठेको छ ।

Published : Monday, 2020 July 27, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया