तरुणद्वारा सिन्धुपाल्चोकको दुर्गम गाउँमा हेलिकप्टरबाट त्रिपाल वितरण, सयाैँ गाउँलेलाई सुरक्षित बनाए (तस्बीर)

सिन्धुपाल्चोक । नेपाल तरुण दल सिन्धुपाल्चोकले पहिरोबाट समस्यामा परेका जुगल गाउँपालिकाका स्थानीय सर्वसाधारणलाई त्रिपाल निःशुल्क वितरण गरेको छ ।

सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष दोर्जे लामाको संयोजन तथा नेतृत्वमा बाढीपहिरो पीडितहरूलाई सोमबार ८५ थान त्रिपाल निःशुल्क विरतण गरिएको हो । जुगल गाउँपालिकाको वडा नम्बर २ को लिदेमा त्रिपाल वितरण गरिएको अध्यक्ष लामाले बताए ।

पहिरोका कारण लिदे गाउँनै जोखिममा परेपछि सिन्धुपाल्चोक तरुणले त्रिपाल उपलब्ध गराएर गाउँलेहरूलाई सुरक्षित स्थानमा सारेको छ ।

गाउँलेहरू समस्यामा परेपछि आइतबार र सोमबार दुईदिनको तरुणहरूको बैठकले त्रिपाल संकलन गरेर हेलिकप्टरमार्फत जुगल गाउँपालिका पर्‍याएर सोमबार वितरण गरेको हो ।

विपतको समयमा नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष लामा, नेपाली कांग्रेसको जुगल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार एवम कांग्रेसका नेता नीमा शेर्पा, नेपाली कांग्रेस जुगल गाउँपालिकाका नेता जयबहादुर लामालगायतले त्रिपाल वितरणमा भूमिका खेलेका थिए ।

तरुण दलका अध्यक्ष लामाले त्रिपाल वितरण र उद्धारमा जिल्लाका धेरै तरुण तथा कांग्रेसका नेताहरूको ठूलो भूमिका रहेको बताए ।

उनले नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको निर्देशन र तरुणको दायित्वअनुसार सिन्धुपाल्चोकमा राहत तथा उद्धारमा खटिएको बताए ।

नेपाल तरुण दलका अध्यक्ष बस्नेतले पनि सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति भएको भन्दै स्थानीय तरुण साथीहरूले गरेको कार्यको प्रशंसा गरेका छन् ।

अध्यक्ष बस्नेतले भने, ‘सिन्धुपाल्चोकका तरुण साथी र कांग्रेसका नेताहरूले विपतको समयमा ठूलो सहयोग गर्नुभएको छ । उहाँहरूलाई विशेष धन्यावाद छ ।’

नेपाल तरुण दल सिन्धुपाल्चोकले बाढीपहिरो पीडितहरूलाई करीव दुई लाख बराबरको ८५ थान त्रिपाल वितरण गरेका छन् ।

पहिराेबाट जुगल गाउँपालिकाका सर्वसाधारण जाेखिममा परेपछि तरुण नेताहरूसँग त्रिपाल मागेर सुरक्षित स्थानमा बस्न चाहेका थिए । त्यसपछि तरुण दलका अध्यक्ष लामाले त्रिपालकाे व्यवस्थापन गरेका थिए ।

सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष लामाले त्रिपाल र हेलिकप्टरका लागि सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

‘जिल्लाका तरुण साथी र कांग्रेसका नेताहरूको यो अभियानमा ठूलो सहयोग छ’, अध्यक्ष लामाले भने, ‘म एक्लै केही होइन । तरुण साथीहरूले नै सबै गर्नुभएको छ । हाम्रो टिमले जनताले दुःख पाउँदा टुलटुलु हेरेर बस्ने छैनौँ । अग्रस्थानमा उभिएर उद्धार र सहयोग गर्नेछौँ ।’

सिन्धुपाल्चोक तरुण दलका कोषाध्यक्ष नीमा शेर्पाले पनि उद्धार र सहयोगका लागि ठूलो योगदान दिएको अध्यक्ष तामाङले बताए ।

कांग्रेसका युवा नेता एवम् तरुण नेता सञ्जय लामाले पनि उद्धार र राहतको कार्यक्रममा सहयोग गरेको भन्दै अध्यक्ष लामाले धन्यावाद दिएका छन् ।

तरुण दल जुगल गाउँपालिका वडा नम्बर २ का सभापति केदर दोङ, तरुण नेता ईन्द्र दोङलगायतलाई पनि तरुण सिन्धुपाल्चोकका अध्यक्ष लामाले धन्यावाद दिएका छन् ।

यसअघि, तरुण अध्यक्ष लामाले बाह्रबिसेमा बाढीपहिरोबाट समस्यामा परेकाहरूको उद्धार र राहतमा विशेष भूमिका खेलेका थिए ।  

 

Published : Monday, 2020 July 13, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया