तरुणले वीपीको स्मृति दिवस रचनात्मक रुपमा मनाउने, जिल्लाहरूलाई कडा निर्देशन

काठमाडौं । नेपाल तरुण दलले ३८औँ वीपी कोइराला स्मृति दिवस रचनात्मक र सृजनात्मक कार्यक्रम गरेर मनाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ७७ वटै जिल्लाका अध्यक्षहरूलाई सोमबार परिपत्र जारी गरेर महामानव वीपी कोइरालाको ३८औँ स्मृति दिवस रचनात्मक कार्यक्रम गरी भव्य रुपमा मनाउन निर्देशन दिएका हुन् ।

साउन ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवम् सृजनात्मक कार्यक्रमहरू गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय भएको जानकारी बस्नेतले जनाएका छन् ।

केन्द्रले तोकेअनुसारको रचनात्मक र सृजनात्मक कार्यक्रम गर्न परिपत्र गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।

‘नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने’, परिपत्रमा भनिएको छ, ‘वीपी स्मृति दिवस वृक्षारोपण, सरसफाई, रक्तदान, फलफूल वितरण, अन्तरक्रिया जस्ता रचनात्मक र सृजनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रुपमा मनाउने ।’

‘कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरूमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरू गर्ने, गराउने र यस सम्बन्धि सचेतना फैलाउने’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा उल्लेख छ ।

‘स्थानीय प्रशासन एवम् निकायहरूसंग समन्वय गरी बाढी पहिरो प्रभावित जिल्लाका साथीहरूले बाढी पहिरोपीडित जनताहरूलाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील रहने’, बस्नेतले भनेका छन् ।

‘कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सजगता, प्राकृतिक विपद र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामुलक कार्यक्रमहरू गर्ने’, परिपत्रमा भनिएको छ, ‘वीपी स्मृति दिवस भव्य र व्यापक रुपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति)का समितिहरूलाई परिपत्र गरी निर्देशन गर्ने ।’

‘त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमहरूको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुहोला’, अध्यक्ष बस्नेतले जिल्ला अध्यक्षहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष बस्नेतले कोरोना भाइरसको संक्रमण भएकाले रचनात्मक र सृजनात्मक कार्यक्रमहरू गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न पनि निर्देशन दिएका छन् ।

उनले सामाजिक दुरी कायम गरी कोभिड–१९ बाट ‘आफू पनि बाचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नाराका साथ कार्यक्रम गर्न निर्देशन दिएका हुन् ।

Published : Monday, 2020 July 13, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया