गरिवकाे साथी बने कांग्रेस नेता बस्नेत, पहिरोपीडितलाई नगदसहित राहत प्रदान

निरोज चौलागाईं

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई नगदसहित खाद्य सामग्री वितरण गरेका छन् ।

कांग्रेसको केन्द्रीय खेलकुद विभागका संयोजक समेत रहेका बस्नेतले आइतबार बाह्रबिसे नगरपालिका– ५, जम्बुका २० घर बाढीपीडितलाई नगदसहितको राहत उपलब्ध गराएका हुन् ।

केन्द्रीय सदस्य बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले प्रतिघर परिवार ७ हजार नगदसहित आवश्यक खाद्यान्न बितरण गरेको कांग्रेसले जनाएको छ ।

बाढीपहिरो पीडितले सरकारी निकायबाट अहिलेसम्म राहत नपाएका बेला कांग्रेस नेता बस्नेतले नगदसहित खाद्यान्न वितरण गरेका छन् ।

इन्द्रेणी समूहले बाढीपहिरो गएको दिन पीडितहरूलाई राहत दिएको थियो ।

कम्युनिस्टले जितेको बाह्रबिसे नगरपालिकाले बाढीपहिरो पीडितलाई आइतबारसम्म कुनै पनि राहत दिएको छैन ।

कांग्रेस नेता बस्नेत आइतबार राहत लिएर समस्यामा परेकाहरूको घरमा पुगेका हुन् । उनले बाढीपहिरोमा मृत्यु भएका परिवारका आफन्तलाई सान्त्वना दिएका छन् ।

‘तपाईहरू नआत्तिनिहोस् । म सधैं तपाई पीडितहरूको साथमा छु’, कांग्रेस केन्द्रीय सदस्य बस्नेतले भने, ‘तपाईहरूको बसोबासको लागि सरकारसगँ आग्रह गरेको छु ।’ नेता बस्नेतले बाढीपहिरो पीडितको बसोबासको व्यवस्था कम्युनिस्ट सरकारले गरेन भने उनीहरूको ब्यवस्थापन आफैले गर्न पहल गर्ने आश्वासन दिए ।

जन्बुका बाढीपहिरो पीडितहरू अहिले आफन्तकोमा आश्रय लिइरहेका छन् ।

पीडितहरूले कोरोना भाइरसको संक्रमण र महामारी भएका बेला अरुको आश्रयमा धेरै दिन बस्दा असहज हुने गुनासो कांग्रेस नेता बस्नेत समक्ष गरेका थिए । उनीहरूले आफूहरूको बसोबास छिटोभन्दा छिटो गर्न माग गरे ।

बाढीपहिरो पीडित सुनिता लामाले सुरक्षित बसोबासका लागि सरकारी निकायका प्रतिनिधिहरूसँग आग्रह गर्दा पनि सुनुवाइ नभएको बताइन् ।

‘हामीलाई सुरक्षित स्थानमा बासको ब्यवस्थापन गर्नुपर्छ’, उनले भनिन्, ‘स्थानीय सरकारसँग आग्रह गरेपनि स्थानीय सरकारले हाम्रो माग कार्यान्वयन गर्नेबारेमा बेवास्ता गरेको छ ।’

बाह्रबिसे नगरपालिकाले बाढीपहिरो पीडितका मृतक परिवारलाई किरिया खर्चका लागि १ लाख दिने घोषण गरेको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितिबाट प्रतिपरिवार १० हजार बितरण गरिएको छ ।

Published : Monday, 2020 July 13, 7:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया