छ महिना लुकेर बस्नुभयाे, ओलीजी राष्ट्रवादी हाेइनः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार कुटनैतिक विषयमा असफल भएको बताएका छन् ।

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा युवा नेता खतिवडाले दुई छिमेकी राष्ट्र भारत र चीनलाई हेर्न नीतिमा विभेद गरेको बताए ।

ओलीको परराष्ट्र नीतिको असफलताका कारण चीनको गतिविधि नेपालमा बढेको बताए । ‘नेपालमा कुनै पनि विदेशीको चलखेल हुनु हुँदैन’, उनले भने, ‘भारत होस् वा चीन कुनै पनि मुलुकको राजदूत सत्तारुढ दलका नेताहरूको घरमा रत्यौली खेल्ने कुरा नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप हो ।’ नेकपाको सरकारले चीनको हस्तक्षेपलाई भित्र्याएको खतिवडाको संकेत थियो ।

ओलीको प्रधानमन्त्रीको कुर्सी बचाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबाट भएको गतिविधि र हर्कतहरू निन्दनीय भएको खतिवडाले बताए ।

उनले भने, ‘विगतमा भारतका राजदूतहरूले पनि नेताहरू भेट्ने कुरा गलत थियो । अहिले चीनको राजदूतले घरघरै पुगेर नेताहरू भेट्ने कुरा पनि गलत छ । विदेशी हस्तक्षेप स्वीकार्य छैन ।’

प्रधानमन्त्री ओली राष्ट्रवादी होइन भन्ने कुरा नेकपाकै शीर्ष नेताहरूले भन्ने गरेको बताएका कांग्रेस नेता खतिवडाले भने, ‘झलनाथ खनाल र बामदेव गौतमले तपाइकै टेलिभिजन कार्यक्रममा केपी ओली राष्ट्रवादी होइन भनेको कुरा मैले सुनेको छु । सरकारको नीति तथा कार्यक्रममा मैले राख्न लगाएको हुँ भनेर बामदेवजीले भन्नुभएको छ । झलनाथको कुरा पनि त्यही आएको छ ।’

‘ओली राष्ट्रवादी हुनुहुन्थ्यो भने ६ महिना अगाडि कांग्रेससहितको सर्वदलीय बैठकले नयाँ नक्सा जारी सहमति दिएका थिए’, उनले भने, ‘ओलीले नक्सा जारी गर्नुभएन । बरु उहाँले नयाँ नक्सा त प्रेसमा छाप्न सकिन्छ भन्नुभयो ।’

ओलीकै पालामा भारतले कालापानी क्षेत्रमा चीन जोड्ने सडक पूरा गरेको तथा भारतले नेपाली भूमि अतिक्रमण गरेर आफ्नो नयाँ नक्सा जारी गरेको भन्दै खतिवडाले कम्युनिस्टहरूप्रति आशंका गरे ।

ओलीको कुर्सी बचाइदिन विदेशहरू सक्रिय हुनुपर्ने दिन आएको भन्दै खतिवडाले विदेश नीतिलाई हल्का रुपमा नलिन चेतावनी दिएका छन् ।

उनले ओलीको कुर्सी बचाउन आफ्ना हनुमानहरूलाई सडकमा उतारेको भन्दै चिन्ता जनाए । ‘पञ्चायतलाई बचाउन विगतमा यसैगरी पञ्चहरू पनि सडकमा उत्रिएका थिए’, खतिवडाले भने, ‘केपी ओलीको कुर्सी बचाउन सडकमा जात्रा नदेखाएको भए हुने थियो ।’

नेपाली कांग्रेसको तत्कालीन सुशील कोइरालाको सरकारकले लिपुलेकका विषयमा आफ्नो स्पष्ट धारणा राखेको बताए । ‘बेइजिङमा सन् २०१५ मा नरेन्द्र मोदी र सी जिनपिङबीच लिपुलेकबाट व्यापार नाका खोल्ने विषयमा भएको सहमतिको सुशील कोइरालाले तत्काल विरोध गर्नुभयो’, उनले भने, ‘लिपुलेकका विषयमा कांग्रेसको सरकारले औपचारिक रुपमा चीन र भारतसँग विरोध जनाएको हो ।’

लिपुलेक विवादित भूमि हो भन्ने जान्दाजान्दै चीनले भारतसँग सहमति गरेकोमा खतिवडाले आक्रोश पोखेका छन् ।

नेकपाका केही नेता तथा कार्यकर्ताहरूले ओलीलाई भगवान बनाएकोमा कांग्रेस नेता खतिवडाले भने, ‘कम्युनिस्टहरूले भगवान मान्दैनन् । तर, केही हनुमानहरूले ओलीलाई भगवान बनाएका छन् ।’

आफूलाई समस्या पर्दा ओलीले विभिन्न कार्ड खेल्न र फ्याक्न सफल नेताका रुपमा चिनेको भन्दै खतिवडाले ओलीलाई कुशल खेलाडीको संज्ञा दिए ।

उनले ओलीमाथि भारतीय मिडियामा भएको आक्रमणको विरोध तथा आपत्ति जनाएका छन् । ‘केपी ओली हाम्रो नेता हो । हाम्रो प्रधानमन्त्री हो’, खतिवडाले भने, ‘व्यक्तिगत चरित्रमाथि दाग लाग्ने गरेर हाम्रो प्रधानमन्त्रीको विरुद्ध लेख्ने र बोल्न भारतीय मिडियालाई आधिकार छैन ।’

कांग्रेसका युवा नेता खतिवडाले ओलीको सरकार ढाल्ने पक्षमा कांग्रेस नरहेको बताए । उनले भने, ‘कांग्रेस कम्युनिस्टको सरकार ढाल्ने र नयाँ बनाउने पक्षमा छैनौँ । पाँच वर्ष कम्युनिस्टकै सरकार हुनुपर्छ । कांग्रेस पाँच वर्ष प्रतिपक्षमा नै बस्छ । तर, ओलीलाई फालेर जो प्रधानमन्त्री आए पनि केही हुँदैन ।’

प्रधानमन्त्री ओली र नेकपाको आन्तरिक विवादका कारणले देश बरबाद भएको खतिवडाले आरोप लगाएका छन् ।

‘जनता कोरोनाबाट समस्यामा परेका छन् । बाढीपहिरोले ठूलो जनधनको क्षति भएको छ’, उनले भने, ‘ओलीजी र नेकपाका नेताहरू सत्ताको खेलामा हुनुहुन्छ । सरकारका मन्त्रीहरू हेलिकप्टरमा चढेर जान्छन् । फोटो खिचाएर फेसबुकमा हाल्छन् । जनताको उाद्धार र राहतको कुरै छैन ।’

तीन वर्षको समयमा ओली सरकारले जनताले स्मरण गर्ने कुनै पनि काम गर्न नसकेको बताएका छन् । ‘ओलीजीको सरकार पूर्ण रुपमा असफल भएको छ । पानीजहाज, रेल, केबुलकार, ग्यासको पाइप खोइ ? उहाँहरू आफ्नै कारणले मरिच जस्तै चाउरी पर्नुभएको छ’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

Published : Sunday, 2020 July 12, 9:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया