सिन्धुपाल्चोक तरुण अध्यक्षद्वारा निजी खर्चमा गर्भवती महिला र वृद्धाको हेलिकप्टरबाट उद्धार

बाह्रबिसे । नेपाल तरुण दल सिन्धुपाल्चोकले बाढीपहिरोका कारण समस्यामा परेकी गर्भवती महिला र घाइतेको हेलिकप्टरबाट उद्धार गरेको छ ।

तातोपानीको कोदारीनिवासी २५ वर्षीया बिना तामाङलाई तरुण दलले शनिबार हेलिकप्टरबाट उद्धार गरेको हो ।

तामाङलाई बुधबार रातिदेखि नै सुत्केरी बेथाले च्यापेको थियो । एम्बुलेन्सबाट काठमाडौं ल्याउने तयारी गर्दागर्दै बाढीपहिरोले कोदारी राजमार्गमा क्षतिपु¥याएपछि तामाङ तीन दिनदेखि घरमा थलिएर बसेकी थिइन् ।

स्थानीय स्वास्थ्यकर्मीले बच्चा उल्टो अवस्थामा रहेको बताएपछि महिलाको परिवारले भोटेकोसी गाउँपालिका– २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठलाई फोन गरेर उद्धारका लागि अनुरोध गरेका थिए ।

तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर पठाएका हुन् । हेलिकप्टरका लागि भोटेकोशी गाउँपालिकाका तरुण अध्यक्ष आङछिरिङ शेर्पाले पनि हेलिकप्टका लागि सहयोग गरेका थिए । शेर्पा वडा नम्बर ४ का वडा सदस्य पनि हुन् ।

तरुण अध्यक्ष लामाले निजी रकम खर्च गरेर गर्भवती तामाङ र पहिरोले पुरिएर घाइते बनेकी फुल्पिङकट्टीकी ७८ वर्षीया वृद्धा निम्डोमा शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएका छन् ।

प्रतिकूल मौसमका कारण शुक्रबार हेलिकोप्टर लैजान नसकिएको तरुण अध्यक्ष लामाले बताए ।

Published : Saturday, 2020 July 11, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया