यी हुन् विदेशमा बसेर कांग्रेसका नेताहरूलाई गाली गर्ने ‘धुन्दुकारी’ संयाेजक, कारबाही शुरू

लण्डन । नेपाली कांग्रेसले विदेशमा बसेर पार्टीका नेताहरूलाई गालीगलौज गर्नेविरुद्ध कारबाही गरेर ‘सफाइ’ अभियान चलाएको छ ।

पार्टी र नेताहरूको व्यक्तिगत छविमाथि आँच आउने गरी सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिनेविरुद्ध कांग्रेसले कारबाही शुरु गरेको हो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले कांग्रेसले जनसम्पर्क समिति बेल्जियमकी संयोजक सीता सापकोटालाई स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् ।

संयोजक सापकोटाले पार्टी अनुशासनविरुद्ध गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

पार्टी कार्यालयको चलानी नम्बर १०८८–७७ र १७ असार २०७७ को पत्रअनुसार सापकोटालाई २० दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।

यसअघि संयोजक सापकोटाले कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई मधेशीको मतियार भएको आरोप लगाएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी थिइन् ।

सापकोटाले पटक–पटक पार्टीको निर्णय र निर्देशनलाई अपहेलना गर्दै आएको आरोप लागेको छ ।

उपसभापति निधिले पार्टी र सभापति शेरबहादुर देउवालाई सिध्यायको भन्दै आफ्नो फेसबुक टाइमलाइनमा स्ट्याटस लेखेपछि सापकोटाविरुद्ध पार्टी कार्यालयमा उजुरी परेको थियो ।

सापकोटाविरुद्ध नेपाली जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुङले पार्टीमा उजुरी दिएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने संयोजक सापकोटाले पार्टीको पत्रबारे अनभिज्ञता प्रकट गरेकी छिन् । ‘मलाई पत्र प्राप्त भएको छैन’, संयोजक सापकोटाले भनेकी छिन ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसभापति विष्णु सुवेदीले जुम बैठकमा पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध अभिव्यक्ति दिएर गाली गलौजमा उत्रेपछि पार्टीले कारबाही गरेको थियो ।

सुवेदीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले पार्टीको महासमिति सदस्यबाट निलम्वन गर्न सिफारिस गरेका छ ।

विदेशमा ३० भन्दा बढी देशमा रहेको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरू अराजक देखिएपछि पार्टीका केही केन्द्रीय नेताहरूले नेपाली जनसम्पर्क समितिको औचित्य समाप्त भएको अभिव्यक्ति दिएका छन् ।

यसअघि, कांग्रेसले विदेशी नागरिकता लिएका जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई महाधिवेशनमा भाग लिन बन्देज लगाएको थियो ।

Published : Saturday, 2020 July 11, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया