पर्वतको जलजलामा कांग्रेसका युवा नेता मल्लद्वारा ३० लाख बराबरको राहत वितरण शुरु

जलजला । नेपाली कांग्रेस पर्वतका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले दाताको सहयोगमा अति विपन्न परिवारहरूलाई ३० लाख बराबरको राहत वितरण गरेका छन् ।

मल्लले शुक्रबारदेखि जलजला गाउँपालिकाका आठ सय विपन्न परिवारलाई झण्डै ३० लाख रूपियाँ बराबरको राहत सामग्री वितरण गरेका हुन् ।

यसअघि, मल्लले आफ्नै व्यक्तिगत खर्चमा समेत राहत र स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

कोरोना भाइरसको उच्च जोखिमसँगै लामो समय मुलुकमा भएको लकडाउनका कारण समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई राहत वितरण गरिएको हो ।

हिमालयन बालकल्याण मञ्चको सहयोगमा अध्यक्ष मल्लले राहत वितरण अभियान सञ्चालन गरेका हुन् ।

जलजला गाउँपालिकाका वडा नं. २, ४, ५ र ७ नम्बर वडाका ८ सय अति विपन्न परिवारलाई लक्षित गरि राहत वितरण गर्न लागिएको छ ।

प्रतिपरिवार ४० किलो चामल, चार किलो दाल, तीन लिटर तेल र दुई किलो नुन उपलब्ध गराइने अध्यक्ष मल्लले जानकारी दिए ।

आइतबार जलजला– ७ धाईरिङका एकसय ७५ जना परिवारलाई एक कार्यक्रमका बीच राहत वितरण शुभारम्भ गरिएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै कांग्रेसका युवा नेता एवम् अध्यक्ष मल्लले कोरोना भाइरसको महामारीबाट आक्रान्त भएका र लकडाउनका कारण श्रम गर्नबाट बञ्चित भएका दलित तथा अति विपन्न परिवारको समस्यालाई मध्यनजर गरेर आफूले दाता संस्थाहरूसँग गुहारेर राहत सामग्री जुटाएको बताएका छन् ।

अध्यक्ष मल्लले गाउँपालिकाभित्रका गरीब, दलित र कमजोर आय भएका समुदायलाई राहत उपलब्ध गराइने बताए ।

आउँदा दिनमा अन्य वार्डमा समेत राहतका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने मल्ले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष मल्लले राहत सहयोगका लागि समन्वय गरिदिने प्रदेश सभा सदस्य ललितकला गुरूङ र मोदी गाउँपालिका– १ भूकका वडाअध्यक्ष भुलबहादुर पौडेलप्रति पनि आभार व्यक्त गरेका छन् ।

जलजला गाउँपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. ४ का वडाध्यक्ष भीष्म मल्लको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय, कार्यपालिका सदस्य मायाकुमारी शर्मा लगायतले राहत सहयोग जुटाएर विपन्न वर्गको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष मल्लको प्रशंसा गरेका थिए ।

जलजला गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको सञ्चालन जलजला गाउँपालिकाका शाखा अधिकृत लीलाधर सुवेदीले गरेका थिए ।

शुक्रबारबाट शुरु भएको राहत वितरण कार्यक्रम अन्य वार्डका ६ सय २५ परिवारलाई समेत शनिबार र आइतबार क्रमशः वितरण गरिनेछ ।

Published : Friday, 2020 July 10, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया