ओलीको प्रधानमन्त्री कुर्सी बचाउन ‘गुण्डा नाइके’ सत्यमान सडकमा उत्रिए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत नेताहरूले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेर उथलपुथल मच्याइरहेका बेला ‘गुण्डा नाइके’ प्रधानमन्त्री पदको कुर्सी बचाउन सडकमा उत्रिएका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ओलीको समर्थनमा प्रदर्शन भइरहेका बेला गुण्डा नाइकेले कहलिएका नेकपाका कार्यकर्ता सत्यमान लामा प्लेकार्ड लिएर सडकमा देखिएका हुन् ।

काभ्रेमा बुधबार भएको प्रदर्शनमा लामा प्लेकार्डसहित साथीहरूसँग देखिएका हुन् ।

गण्डागर्दी, ठगी, धम्की, अबैध असुली, बुद्धचित्त लुटपाटलगायतका काण्डमा पटक–पटक पक्राउ परेका लामाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने मागसहित सडकमा प्रदर्शन गरेका छन् ।

उनीसहितका युवाहरूले ओलीलाई भारतको निर्देशनमा नेकपाकै नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट हटाउन खोजिएको भन्दै प्रदर्शन गरेका थिए ।

ओलीको बचाउमा गुण्डा नाइकेहरू सडकमा आएपछि नेकपा काभ्रेका नेता तथा कार्यकर्ताहरू चित परेका छन् । ओलीको विपक्षमा रहेका नेकपाका नेताहरूले ‘ओलीको प्रधानमन्त्री पद बचाइदिन गुण्डा नाइकेहरू सडकमा आउनुपर्ने दिन पनि देखियो’ आश्चर्य व्यक्त गरेका छन् ।

‘गुण्डा नाइके’ लामा पक्राउ परेका बेला नेकपाकी प्रतिनिधि सभाकी सांसद नवीना लामाले प्रहरीलाई दवाव दिएर छुटाउँदै आएकी छिन् । सांसद नवीना लामा र सत्यमान लामाबीच राम्रो सम्बन्ध छ ।

नेकपाका नेताहरूको संरक्षणमा सत्यमान लामाले काभ्रेसहित काठमाडौं उपत्यकामा गुण्डागर्दी गर्दै आएका थिए । पछिल्लाे समय सत्यमानकाे काराेबार बिग्रिएपछि टाट पल्टिने अवस्थामा पुगेका छन् ।

सत्यमान लामा ‘तडिपार’ भएर भारततिर बस्दै आएका मोस्टवान्टेड ‘डन’ दावा लामाका चेला हुन् । कुनै बेला दावाको कारोबारको सबै हिसाबकिताब सत्यमानले नै हेर्ने गर्थे ।

पूर्व‘डन’हरू गणेशमान लामा, तीर्थ लामा, सञ्जीव लामा ‘स्याल’हरूका कारण काभ्रे चर्चित छ । गणेश लामा र तीर्थ लामा राजनीतितिर लागेका छन् । तीर्थ लामा सांसद समेत बनिसकेका छन् ।

तीर्थ लामाले काभ्रेमा क्रसरतिर हातहालेका छन् । जुवा काण्डमा पनि तीर्थ लामाको बेलाबेला अहिले पनि नाम जोडिने गरेको छ ।

Published : Friday, 2020 July 10, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया