कम्युनिस्ट सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढायो, बसहरू चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला कम्युनिस्ट सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने जानकारी दिएका छन् ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।

सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।

सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।

ट्याक्सी पनि चलाउन दिने निर्णय भएको छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ ।

एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ ।

निजी सवारीको हकमा जोरविजोर कायमै छ । चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।

सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने अर्थमन्त्री खतिवडाले बताए । कम्युनिस्ट सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ ।

सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताएका छन् । ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।

Published : Thursday, 2020 July 9, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया