कम्युनिस्टहरू कुर्सी बचाउन लागेका बेला समस्यामा परेकाहरूकाे साथी बन्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले लकडाउन र कोरोना भाइरसको महामारीबाट सबै क्षेत्र प्रभावित भएको भन्दै समस्यामा परेकाहरूलाई राज्यको सहायता आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक समेत रहेका डा.महतले सरकारले जनतालाई राहत दिनेभन्दा पनि समस्यामा परेकाहरूको मागको सुनुवाइ गर्नै छाडेको बताए । उनले उद्योगी, व्यवसायीदेखि समाजका सबैलाई परेको समस्याबाट सरकारले पार लगाउनुपर्ने बताए ।

कम्युनिस्टहरू कुर्सी बचाउन सत्ताकाे खेलामा लागेका बेला कांग्रेसकाे काेभिड १९ अनुगमन समितिले बैंकिङ क्षेत्र, चेम्बर अफ कमर्स र निर्माण व्यवसायीहरूसँग अलग अलग छलफल गरी गुनासा र समस्या समाधानकाे पहल गर्ने जानकारी दिएकाे हाे ।

समितिले नेपालका बैंकिङ क्षेत्रमा परेको प्रभाव तथा अर्थतन्त्रमा कोरोनाले गरेको समस्याबारे छलफल गरेर जानकारी लिएको छ ।

मौद्रिक नीतिमा सरकारले कुन–कुन कुराहरूको सम्वोधन गर्न आवश्यक छ ? भनेर छलफल भएको थियो ।

जसका कारण आर्थिक पुनरुत्थान हुन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । समितिले नेपाल चेम्बरसंग पनि छलफल गरेको छ ।

छलफलका क्रममा नेपाल चेम्बर्र अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्र बैंकको आदेश बैंकहरूले नमानेको गुनासो गरेका थिए ।

पुनःकर्जाको नीति अलि प्रष्ट नभएको भन्दै श्रेष्ठले पुनः लकडाउनको हल्लाले व्यापारी अझ डराइरहेको बताए ।

‘स्थानीय निकायलगायतले कर उठाउँदा ८० प्रतिशतसम्म ब्यापारीले कर तिर्नुपर्ने अवस्था आयो’, अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले कर प्रणाली एकीकृत हुन पर्‍यो ।’
‘राज्यको आन्तरिक पर्यटन मात्र भनेर भएन’, उनले भने, ‘यातायातको समेत ब्यवस्थापन गर्न पर्‍यो ।’

समितिले निर्माण व्यावसायीहरूसँग पनि निर्माण ब्यवसायमा परेको असरबारेमा पनि छलफल गरेको छ ।

निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंहको टोलीसँग गरिएको छलफलमा निर्मान व्यावसायीहरूले कोरोना भाइरसको सबैभन्दा ठूलो असर निर्माण ब्यवसायमा परेको बताएका थिए ।

कांग्रेसका सह–महामन्त्री डा.महतको संयोजकत्वमा गठन भएको कोरोना अनुगमन समितिले विभिन्न क्षेत्रसँग छलफल तथा परामर्शहरू गर्दै आएको छ ।

सबैको सुझावलाई समेटेर कांग्रेसले सोही समितिमार्फत कम्युनिस्ट सरकारलाई दवाव दिनेछ ।

Published : Thursday, 2020 July 9, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया