कांग्रेसको कोरोना समितिद्वारा टेकु अस्पतालको अनुगमन, सहयाेग गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसको कोरोना अनुगमन समितिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेर समस्याहरूका बारेमा जानकारी लिएको छ ।

समितिका संयोजक एवम् कांग्रेसका महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वमा पुगेको टोलीले कोरोनाको नमूना परीक्षण, उपचारमा भइरहेको प्रयास तथा समस्याहरूका बारेमा जानकारी लिएको हो ।

समितिले कोरोना रोकथाम, उपचार र परीक्षणमा अस्पताललाई भएको समस्याहरूको जानकारी लिएको संयोजक डा.महतले जानकारी दिए ।

अनुगमनका क्रममा अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्न आउने कसैले पनि सामाजिक दुरी कायम नगरेको पाइएको डा.महतले बताए ।

घरबेटीहरूले कोरोना परीक्षण गरेको रिपोर्ट अहिलेसम्म पनि खोजिरहेको कारण कोरोना परीक्षण गर्न हज्जारौं मान्छेको बाक्लो लाइन पनि अस्पतालमा भएको कांग्रेस सहमहामन्त्री डा.महतले जानकारी दिए ।

उनले टेकुमा ३० रुपैयामै कोरोना परीक्षण हुने र अन्य सरकारी अस्पतालले त्यही परीक्षणका लागि ५ हजार भन्दा बढी रकम लिने गरेको कारण पनि टेकु अस्पतालमा कोरोनाको परीक्षण गर्ने संख्या धेरै भएको अनुगमनका क्रममा आफूहरूले बुझेको बताए ।

कांग्रेसका सह–महामन्त्री समेत रहेका संयोजक डा.महतले टेकु अस्पतालमा कोरोनाको नमूना परीक्षण गर्नेहरूको संख्या बढ्दा समस्याहरू आएको हुन सक्नेभन्दै यसको विकल्पमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी टेकु अस्पतालबाहेक अन्य अस्पतालहरूबाट पनि कोरोना परीक्षण गर्नुपर्न सरकारलाई सुझाव दिन समितिसँग आग्रह गरेका थिए ।

निर्देशक राजभण्डारीले कोरोनाको परीक्षण शुक्रराजमा मात्रै केन्द्रित भएका कारण उच्चपदस्थ व्यक्तिहरू अस्पतालको अनुगमन र निरीक्षणमा डराएर नआउने गरेको बताए ।

टेकु अस्पतालको समस्या बुझ्न संयोजक डा.महतका साथै समितिका सदस्यहरू एनपी साउद, मोहनबहादुर बस्नेत, महालक्ष्मी उपाध्याय ‘डिना’, राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 July 5, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया