यी हुन् ओली सरकार ढाल्न सक्रिय मन्त्री, ओलीले भनेकाे कुरा पुष्टि हुँदै

काठमाडौं । सरकारलाई संकट परेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले शंकास्पद गतिविधि र हर्कतहरू देखाउन थालेका छन् ।

आफ्नो मन्त्रालयमा कार्यसम्पादन गर्न नसकेको भनेर आलोचना भइरहेका बेला मन्त्री यादवले आफ्नै सरकारविरुद्ध गुटबन्दी गरेको आरोप छ ।

पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका यादवले खुमलटारलाई खुसी बनाउन गतिविधि गरेका हुन् । हुन त मन्त्री यादवले लैनचौरस्थित भारतीय राजदूतावाससँग पनि राम्रो सम्बन्ध राख्ने गरेको बेलाबेला चर्चा हुने गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले केही दिन अगाडि सार्वजनिक कार्यक्रममा आफूलाई हटाउन भारतीयहरू सक्रिय भएको भनेर अभिव्यक्ति दिएका थिए । ओलीको अभिव्यक्तिले देशभरि तरंग उत्पन्न गरेका बेला मन्त्री यादवका पनि त्यस्र्त हर्कतहरू बाहिरिन थालेपछि चिन्ता बढाइदिएको छ ।

नेकपाका नेता समेत रहेका मन्त्री यादवले प्रदेश २ का केन्द्रीय सदस्य, सांसद र स्थानीय नेताहरूलाई फोन गरेर नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिन दवाव दिने गरेको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध प्रदेश २ मा गतिविधि गरेपछि भाँडभैलो भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध मन्त्री यादव लागेको थाहा पाएपछि संस्थापन पक्षधर नेताहरूले आपत्ति प्रकट गरेका छन् ।

नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्री ओलीको सरकारमा मन्त्री भएर बस्ने । आफ्नै सरकारका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्ने । मन्त्री निवासमा बसेर फोन घुमाउने । लैनचौरसँग सम्बन्ध राख्ने । यस्ता कार्य गर्ने हो भने मन्त्रीबाट राजीनामा दिएर बाहिर राजनीति गरे हुन्छ । होइन भने सुध्रिनुपर्छ ।’

सद्भावना, फाेरम लगायतका दल छाडेर माओवादीमा प्रवेश गरी प्रतिनिधि सभामा निर्वाचत भएका यादवले आफ्नै जिल्ला सर्लाहीका नेताहरूलाई समेत मिलाउन सकेका छैन ।

जिल्ला मिलाउन नसकेका मन्त्री यादवले आफू सहभागी सरकारविरुद्ध हर्कत गरेपछि उनको विरोध भएको छ ।

मन्त्री यादवका हर्कतहरू प्रधानमन्त्री ओली र सरकारविरुद्ध हुन थालेपछि नेकपाका नेताहरू चिन्तित बनेका छन् ।

सर्लाहीमा नेकपाका कार्यकर्तालाई कुटपिट भएपछि सरकारी हेलिकप्टर चढेर मन्त्री यादव सर्लाही पुगेका थिए । सर्लाही जाने क्रममा उनले स्थानीय नेता तथा कुनै पनि कार्यकर्ताहरूसँग समन्वय गरेका थिएनन् ।

प्रदेश २ को कोरोना रोकथाम, उद्धारका लागि संयोजकको जिम्मेवारी पाएका मन्त्री यादवले कोरोनाविरुद्धको अभियानमा प्रदेश २ मा सिन्को पनि भाँचेका छैनन् । मन्त्री यादवका कारण प्रदेश २ मा नेकपा कमजोर हुन थालेको आरोप पनि छ ।

Published : Sunday, 2020 July 5, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया