ओलीका कुराले मन्त्रीहरूको अनुहार मलिन, दुर्घटना नजिक पुग्यो नेकपा

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आफूले बचाउन नसक्ने बताएका छन् ।

बालुवाटारमा सबै मन्त्रीहरूलाई शनिबार साँझ बोलाएर ओलीले पार्टीभित्रको विवाद मिलाउन आफूले प्रयास गर्दा गर्दै अन्य नेताहरूका कारण नेकपा फुटको संघारमा पुगेको बताएका हुन् ।

स्रोतका अनुसार ओलीले नेकपा अब एक रहने सम्भावना निकै कम रहेको बताएका छन् ।

नेकपालाई बचाउन आफूले अथक प्रयास गरिरहेको बताएका प्रधानमन्त्री ओलीले आफ्नो प्रयासलाई सहयोग गर्न मन्त्रीहरूसँग आग्रह गरेका थिए ।

ओलीले आफू नेकपालाई बचाउन अन्तिम समयसम्म लाग्ने बताएका छन् । उनले भने, ‘पार्टी बचाउने प्रयास गर्छु । सकिएन भने अलग हुन्छ ।’

नेकपाका नेताहरूको गतिविधिप्रति असन्तु देखिएका ओलीले भने, ‘सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ । त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’

प्रधानमन्त्री र अध्यक्ष दुबैबाट आफूलाई राजीनामा दिन दवाव दिइरहेको भन्दै ओलीले त्यो सम्भव नभएको बताएका छन् ।

ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको र त्यसमा भारत पनि लागेको बताएका छन् ।

आफ्नै पार्टी नेकपाका नेता र सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको मन्त्रीहरूलाई ओलीले जानकारी गराएका छन् ।

ओलीले भनेका छन्, ‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला । बैठकमा वर्षमान पुन, घनश्याम भुसाल र बिना मगरले पनि बोलेका थिए ।

Published : Saturday, 2020 July 4, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया